जुम्लामा चिसो बढ्यो, जनजीवन कष्टकर

मंसिर २५, २०८० |एलपी देवकोटा
जुम्लामा चिसो बढ्यो, जनजीवन कष्टकर

जुम्ला । चिसो बढ्दै गएपछि जुम्लाको दैनिकी मुस्किल बन्दै गएको छ । मंसिर पहिलो सातादेखि नै तापक्रम माइनसमा झर्न थालेपछि जुम्लाका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको हो ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार आइतबार राति जुम्लाको तापक्रम माइनस ४.७ डिग्रीमा ओर्लिएको जनाएको छ । बिजुलीको भरपर्दो व्यवस्था नभएको जुम्लामा चोकचोकमा आगो बालेर ताप्ने गरिन्छ ।

‘एकदमै चिसो बढेको छ । २/४ दिन भयो पुस नलाग्दै चिसो बढेको महसुस भएको छ,’ खलंगाका नवराज खड्काले भने, ‘जाडो बढेसँगै जताततै पानी जम्न सुरु गरिसकेको छ ।’

जुम्लामा तापक्रम माइनस ७ डिग्रीसम्म झर्ने गरेको छ । घरभित्र राखेको पानी जमेर बरफ बन्नुका साथै धाराको पानी पनि जम्न थालेको छ । चिसो बढ्दै गएपछि विद्यार्थीलाई विद्यालय पुग्न पनि समस्या हुने गरेको छ । चिसोका कारण यहाँका विद्यालयहरु पुस र माघ दुई महिना बन्द हुने गरेका छन् ।

यो पनि...

तराईमा शीतलहर सुरु, राज्यको पूर्वतयारी शून्य


Image

एलपी देवकोटा

देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।