‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’

सत्यले जितेको कुरा हो, न्यायले जितेको कुरा हो : अधिकारकर्मी खगेन्द्र सुनार
मंसिर २०, २०८० |महेश केसी
‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’

रुकुम पश्चिम । साढे तीन वर्षअघि जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएका २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र दुई जनालाई जातीय छुवाछुत कसुरमा दुई वर्ष कैद सजाय सुनाइएपछि पीडितका आफन्तले खुसी व्यक्त गरेका छन् । फैसला आएको भोलिपल्ट बुधबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा उनीहरुले खुसी र्‍यालीसमेत निकालेका छन् ।

जाजरकोटका नवराज विकसहित ६ युवाका आफन्तले ‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’, छैन अब भन्ने बात, अदालतलाई धन्यवाद ।’ जस्ता नारा लगाउँदै खलंगा बजार परिक्रमा गरे ।

यसअघि उनीहरु रुकुम पश्चिम जिल्ला अदालत जाने मूल बाटोनिर पुगेर पुष्प अर्पण गरेका थिए । अदालततर्फ फर्किएर ढोक्दै न्याय पाएकामा सांकेतिक आभार व्यक्त गरे । र्‍यालीपछि पीडितहरुले कालिका मन्दिरमा पुगेर न्याय पाएकामा कोण सभामार्फत सबैलाई धन्यवाद दिए ।

‘न्यायप्रेमी, बुद्धिजीवीहरुले हामीलाई सरसहयोग धेरै गर्नुभयो । उहाँहरुलाई हृदयदेखि धेरै धन्यवाद छ,’ मृतक नवराज विकका बुबा मुनलाल नेपालीले भने ।

गत २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८, सोती गाउँकी एक मल्ल थरकी किशोरीलाई भेट्न उनका प्रेमी नवराज विकसहित साथीहरु पुगेपछि स्थानीयको आक्रमणमा परेका थिए । त्यसपछि नवराजसहित ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।

घटनामा संलग्न भएका ३४ जनालाई अभियोग लगाइए पनि मंगलबार रुकुम पश्चिम जिल्ला अदालतले फैसला सुनाउँदै २४ जनालाई जन्मकैद, दुई जनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

‘हामीले न्याय पाउँदैनौं कि भन्ने थियो, न्याय पायौं । धेरै खुसी छौं,’ मृतक लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले भनिन् ।

घटना भएको झन्डै साढे ३ वर्षपछि फैसला आएसँगै पीडितले न्यायको अनुभूति गरेका छन् । यसप्रकारको फैसलाले समाजमा दण्डहीनतामा कमी आएर न्यायको वातावरण बन्नेमा आशा पलाएको छ ।

‘सत्यले जितेको कुरा हो, न्यायले जितेको कुरा हो, त्यसैले गर्दा न्यायले जित्नुपर्छ, सत्यले जित्नुपर्छ, असत्यले हार्नुपर्छ भन्ने कुराको सन्देश रुकुमले दिएको छ,’ अधिकारकर्मी खगेन्द्र सुनारले कान्तिपुर टेलिभिजनसँग भने ।

दोषीलाई दण्ड र पीडितलाई सन्तोष हुनेगरी रुकुम पश्चिम जिल्ला अदालतले गरेको यो फैसलाले न्याय मरेको छैन भन्ने अनुभूति गरिएको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।