उदाहरणीय काम गर्दै शारीरिक रूपले अशक्त व्यक्तिहरू

मंसिर १७, २०८० |सरिता चलाउने
उदाहरणीय काम गर्दै शारीरिक रूपले अशक्त व्यक्तिहरू

सल्यान । शारीरिक रूपमा अशक्त तर फरक क्षमता भएका व्यक्तिहरू पनि हाम्रै समाजका सदस्य हुन् । तर यस्ता व्यक्तिहरूले परिवार र समाजबाट भेदभाव र दुर्व्यवहारको सामना समेत गर्नु परिरहेको छ । त्यसका बाबजुद पनि शारीरिक रूपले अशक्त व्यक्तिहरू उदाहरणीय काम गर्न सफल भएका छन् ।

सल्यानको दार्मा गाउँपालिकाकी कमला रोका शिक्षक हुन् । शारीरिक रूपमा अशक्त कमला जब पढाइमा चासो दिने गर्थिन्, अपाङ्ग मान्छेले पढेर के गर्छेस् ? भनेर परिवारबाटै उनको रहर निमोठ्ने गरिन्थ्यो । विद्यालयमा पनि साथीहरूले पनि हेप्थे । तर उनले हिम्मत हारिनन् । ५४ सालमा एसएलसी पास गरेपछि उनी शिक्षण पेसामा लागिन् । १७ वर्षसम्म अस्थायी रूपमा काम गरेकी उनले अहिले आफैले पढेको विद्यालयमा स्थायी भएर अध्यापन गराइरहेकी छन् ।

कमलालाई अहिले ‘आफू अशक्त छु’ जस्तो महसुस नै हुँदैन । घरपरिवार र समुदाय दुवैले गर्ने व्यवहार परिवर्तन भएको छ । उनलाई खुबै माया गर्ने बालबालिकाले (ह्विलचियर) मा यताउता हिँडाउनसमेत सहयोग गर्छन् ।

शारदा नगरपालिकाका टेकबहादुर चलाउनेको पनि सानैदेखिको सपना थियो, शिक्षक बन्ने । शारीरिक अशक्तताका बाबजुद उनले ६७ देखि ७० सालसम्म अध्यापन गराए । तर आफू शारीरिक रूपमा अशक्त भएकै कारण विद्यालयले निकालेको उनको आरोप छ । स्नातक उत्तीर्ण गरेका चलाउनेको शिक्षक बन्ने रहर बीचैमा तुहिए पनि उनी हाल अपाङ्गताको क्षेत्रमा काम गरिरहेका छन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्नु राज्यको दायित्व हो । तर फरक क्षमता भएका व्यक्तिको पहिचान र संरक्षणमा सरकारी निकाय र संघसंस्थाले गरिरहेका काम औपचारिक मात्रै बढी देखिएका छन् ।

पछिल्लो जनगणनाअनुसार सल्यानमा ६ हजार ८ सय ७२ जना फरक क्षमता भएका व्यक्ति छन् । जसमा महिला ३ हजार १ सय ६९ र पुरुषको सङ्ख्या ३ हजार ७ सय ३ छ । फरक क्षमता भएका व्यक्तिलाई सहभागिता र निर्णयको अधिकार दिइयो भने मात्रै उनीहरू पनि मूल प्रवाहीकरणमा आउन सक्छन् ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।