भूकम्प प्रभावित जाजरकोटमा चिसोका कारण सुत्केरीको मृत्यु

मंसिर ११, २०८० |सरोज वली
भूकम्प प्रभावित जाजरकोटमा चिसोका कारण सुत्केरीको मृत्यु

काठमाडौं । भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा कष्ट भोगिरहेको अवस्थामा सुत्केरीको मृत्यु नै भएको छ ।

भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्दै आएकी जिल्लाको नलगाड नगरपालिका ८, तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोका कारण मृत्यु भएको हो ।

चदाराले एक महिनाअघि मात्र छोरीलाई जन्म दिएकी थिइन् । त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोका कारण कठ्यांग्रिएर गएराति मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।

लगातारको चिसोको कारण जाजरकोटमा सुत्केरी, गर्भवती समस्यामा परेका छन् । जाजरकोटमा हाल ८९६ जना सुत्केरी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये भूकम्प प्रभावित क्षेत्रका अधिकांश चिसो र विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र सुत्केरीलाई सताएको छ ।

तापक्रम जतिजति ओर्लंदै छ, जाजरकोट भूकम्पपीडितको जनजीवन उत्ति नै कष्टप्रद बन्दै गएको छ । त्रिपालको ओतमा रहेका भूकम्पपीडित चिसोकै कारण बिरामी परिरहेका छन् ।

गत कात्तिक १७ को भूकम्पपछि जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवारको बास त्रिपालमुनि छ । भूकम्पपछि चिसोले १० जनाको मृत्यु भइसकेको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।