यातायात कार्यालय एकान्तकुनाले थाल्यो परिस्कृत अनलाइन प्रणाली

मंसिर ५, २०८० |विकास आचार्य
यातायात कार्यालय एकान्तकुनाले थाल्यो परिस्कृत अनलाइन प्रणाली

काठमाडौं । सवारीचालक अनुमति पत्र-लाइसेन्स लिन अत्यधिक लामो समय लाग्ने गरेको र प्रक्रिया नै झन्झटिलो भएको सेवाग्राहीको गुनासो रहँदै आएको छ । अनलाइन प्रणाली लागु गरेको भनिए पनि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था छ । तर अब अनलाइन प्रणाली थप परिष्कृत गरिएकाले सेवाग्राहीको झन्झट कम हुने दाबी यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरले गरेको छ ।

काठमाडौंको कुलेश्वर बस्ने अनोज गुरुङले सोमबार नयाँ सवारी चाल‍क अनुमति पत्रका लागि एकान्तकुना कार्यालय छनोट गरेर अनलाइन फर्म भरे । उनले बायोमेट्रिकका लागि मंगलबारकै समय पाए । आफ्नो कलेजको पढाई सकेर मध्यान्ह १२ बजे कार्यालय पुग्दा पालो नआउला भन्ने डर अनोजलाई थियो । तर, २० मिनेटमै उनको बायोमेट्रिक र स्वास्थ्य परीक्षण दुवै काम सकियो । 

लाइसेन्स वितरणलाई थप चुस्त र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले उपत्यकाका चार वटा कार्यालयमा नयाँ अनलाइन प्रणाली लागू गरेको हो । तर अहिले एकान्तकुना कार्यालयमा मात्र यो सेवा उपलब्ध छ । जसअनुसार सेवाग्राहीले नयाँ वेबब्राउजरमार्फत् फर्म भर्नेदेखि वर्ग थप गर्ने र लाइसेन्स नवीकरण गर्नेसम्मका काम सम्पन्न गर्न सक्नेछन् । 

यसअघि अनलाइनमार्फत भनिए पनि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था थियो । अब नयाँको हकमा बायोमेट्रिक र स्वास्थ्य परीक्षणका लागि एक दिन कार्यालय गएपछि परीक्षा दिन योग्य हुनेछन् भने नवीकरण र वर्ग थपका लागि एकै दिनमा काम हुनेछ । यस्तै, राजस्व पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

असोज २५ गतेदेखि नयाँ अनलाइन प्रणाली सुरु भए पनि नयाँ वेब ब्राउजरबारे जानकारी नहुँदा सेवाग्राहीहरू लाइनमा लामो समयसम्म बस्नु परेको अवस्था छ । दीर्घकालीन रूपमा यो कति सहज हुन्छ, हेर्न बाँकी छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।