कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरुले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने जनाएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा उनले विकसित राष्ट्रहरु अझै पनि पीडित देशहरुलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको जनाए । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘विकसित राष्ट्रहरु अझै पनि कतिपय अवस्थामा अन्कनाइरहेका छन् कि यो वातावरणीय परिवर्तनका महासन्धि, सन्धिहरुमा हस्ताक्षर गर्न उनीहरुलाई बाध्य पारिनुपर्छ । बोल्ने मात्रै होइन, हामी यो फन्डमा यति पैसा राख्छौं, यो गर्छौं भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फन्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाइँको नेतृत्व हामीले गर्नुपर्छ,’ उनले भने ।

उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाए । साथै उनले नेपालमा जलवायु परिवर्तनका नाममा भएका खर्चहरुमा सोच्नुपर्ने आवश्यकता औंल्याए । ‘अब हुने कोप २८ मा यो लडाइँ र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ । केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ । जलवायु परिवर्तनका नाममा हामी कहाँ पनि धेरै खर्चहरु भएको म देख्छु । तर त्यो खर्च अब कतापट्टि लैजाने ? त्यसबारेमा पनि सोच्नुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सफ्टवेयरमा धेरै खर्च गरेका छौं, जनचेतनाको नाममा । अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागु हुनुपर्छ । विकासको मोडेल पनि हामीले चेन्ज गर्नुपर्छ । विशेष गरेर अहिले बाटो बनाउँदा स्वेल इरोजन बढी भएको छ । यसले प्राकृतिक विपत्ति निम्तिएका छन् ।’

मुख्यमन्त्री पाण्डेले नेपालमा विकासको मोडल परिवर्तन गर्न आवश्यक रहेको पनि जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.