दशैँ, तिहार यता बागमती प्रदेशमा १५६ वटा सवारी दुर्घटना, २३ जनाको मृत्यु

जुवा खेल्ने क्रममा १ सय ८ जना पक्राउ
अवैध रूपमा ओसारपसार गरिएको १२ क्विन्टल ९ सय ६५ केजी चिनी बरामद
३ सय ९ वटा अपराधका घटना
मंसिर २, २०८० |सुजन पुडासैनी
दशैँ, तिहार यता बागमती प्रदेशमा १५६ वटा सवारी दुर्घटना, २३ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा दशैँ, तिहार यता एक सय ५६ वटा सवारी दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ ।

उपत्यकाका ३ जिल्ला बाहेक प्रदेशका १० जिल्लामा दशैं, तिहार यता चाडवर्षको समयमा भएका एक सय ५६ वटा सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका हुन् । यस्तै तीन सय ५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले चाडपर्वका बेला चेकजाचँ गर्दा ५९ हजार ७ सय ३२ वटा सवारी कारबाहीबाट चार करोड ८८ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजस्व संकलन गरेको छ । यस्तै प्रहरीले दशैँ, तिहारको मौका पारेर ४ सय ४० जना यात्रुसँग बढी भाडा लिने ५८ सवारी चालकहरुसँग एकलाख १३ हजार ६ सय ७० रुपैयाँ फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

चितवन, मकवानपुर, काभ्रे, नुवाकोट र सिन्धुलीबाट जुवा खेल्ने क्रममा १ सय ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १६ लाख ८९ हजार ५ सय २९ रुपैयाँ बरामद गरी कानुन बमोजिम अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

यस्तै अवैध रूपमा ओसारपसार गर्दै गरेको १२ क्विन्टल ९ सय ६५ केजी चिनी, ९ लाख ४६ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको कुर्तासुरुवाल र साडी प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुर, चितवन र सिन्धुलीमा चाडपर्वको बेला ५ बोरा, ४४ पोका र ४ सय ५२ प्याकेट पटका तथा विस्फोटक पदार्थ बरामद गरेको छ ।

यसैगरी यस अवधिमा ३ सय ९ वटा अपराधका घटना दर्ता भएका छन् । ती घटनामा संलग्न १ सय ९९ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्वका बेला नागरिकहरुलाई सहज सेवा दिन बागमती प्रदेश १० जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिएको प्रहरीको भनाइ छ ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement