गाईको पूजा गरी मनाइयो गाई तिहार [तस्बिरहरू]

कार्तिक २७, २०८० |विकास जोशी
गाईको पूजा गरी मनाइयो गाई तिहार [तस्बिरहरू]

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको तेस्रो दिन आज गाई तिहार गाईको पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गएर गाईको पूजाआजा गरेका हुन् ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मिठो खानेकुरा खान दिइ मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाएका छन् ।

गाईको पूजा गरी आजका दिन मिठामिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

गाई हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दुध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।

कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचिन कालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो ।


Image

विकास जोशी

जोशी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement