काग : पर्यावरण जोगाउँछ, किसानलाई सघाउँछ

कार्तिक २५, २०८० |मनोज पौडेल
काग : पर्यावरण जोगाउँछ, किसानलाई सघाउँछ

कपिलवस्तु । कागको सञ्चार कला गजबको हुन्छ । एउटा करायो भने वरिपरिका अरु काग झुम्मिन्छन् । एउटा काग मर्यो भने वरिपरिका सबै काग भेला हुन्छन् ।

शोक मनाउँदै घटनाबारे जानकारी दिन्छन् । हाम्रो वातावरणमा रहेको फोहोर र विकार खाएर पर्यावरणलाई जोगाउने कागबाट हामीले सिक्नुपर्ने भनेकै एकआपसको एकता र सद्भाव हो ।

हिन्दु धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ । काग तिहारको दिन कागको पूजाअर्चना नगर्दा पापको भागी भइने र मृत्युपछि नर्कलोकमा पुगिने धार्मिक मान्यता छ ।

‘पूर्वाग्रह नराखीकनै सूचना दिन्छ । त्यसकारण यसबाट केही कुरा सिक्नका लागि पनि हामीले यसलाई पूजा गर्नुपर्ने देखिन्छ र पुजन गर्ने गरिन्छ,’ कपिलवस्तुका पण्डित शिवराम पराजुलीले भने, ‘अर्को कुरा यमराजको संवाहकका रुपमा भएका हुँदा पूजा गरिन्छ ।’

पुराणका अनुसार कागले अमृत चाखेको थियो । त्यसैले कागको कहिल्यै पनि स्वाभाविक मृत्यु हुँदैन भन्ने मान्यता छ । कागको सञ्चार कला गजबको हुन्छ । एउटा करायो भने सुनेर वरिपरिका अरु काग झुम्मिन्छन् । तराईमा घर कागलाई समस्या भयो भने वन काग पनि आइदिन्छन् । बाहिरी आक्रमणलाई परास्त गर्न एकजुट भएर जाइलाग्छन् ।

‘कागहरु निकै चलाख र बुद्धिमान चराका प्रजातिमा पर्छन् । नेपालमा सात प्रजातिका काग छन्,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने ।

नेपालमा ७ प्रजातिका काला काग पाइन्छ । तराईमा घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग र कालो काग पाइन्छ । हिमालतिर राजा, टुंगा र टेमु पाइन्छन् । कागले केही आयो भने खबर गर्ने गर्छन् । बिरालो, सर्प, बाघ र भालु आए कराएर सूचना दिन्छन् । काग अति चलाख हुन्छ । यसले एकदेखि १० सम्म गन्ती पनि गर्न सक्छ भन्ने मान्यता छ ।

‘यमराजजीको दूत भएका नाताले हामीले कागलाई धार्मिक रुपले मान्छौं,’ अवधी लोककला विशेषज्ञ पशुपतिमणि त्रिपाठीले भने ।

कागले विकार, खकार र दिसा खान्छ । सिनो, फालेको मासुको टुक्रा र फोहर खाएर वातावरण संरक्षणको पनि काम गर्छ । बालीनालीमा हानि गर्ने किरा-फट्यांग्रा खाएर उब्जनी बढाउन पनि सहयोग गर्छ ।

वन कागले वन क्षेत्रमा खतरा जोखिम भए त्यसको सूचना पनि दिन्छ । काग मानवको संसर्गमा आयो भने हानि पुर्‍याउने भएकाले छुन नहुने भनिएको चराविद् बताउँछन् ।

कागको आयु २० वर्षसम्म हुन्छ । चैत-वैशाखमा ओथारो बस्छन् । तीन-चार वटासम्म अन्डा पार्छ । जुनसुकै प्रजातिको रुखमा ओथारो बस्न सक्छ । निश्चित उचाइ पाउनासाथ गुड बनाउन थाल्छ । २० फिट उचाइ पाए घुरपास, घाँसपात जम्मा गरेर गुड बनाउँछ ।

भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् । समुद्र सतहको एक सय मिटरदेखि ६ हजार २५० मिटरसम्म काग पाइन्छ । हिमाली क्षेत्रमा पाइने राजा कागले गुम्बा, विहारको प्वाल टोड्का र टेमुले पत्थरको दुलोमा बच्चा जन्माउँछन् । 

सम्बन्धित समाचार...

आज काग तिहार, यमपञ्चकको पहिलो दिन


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।