फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको अल्टिमेटम

कार्तिक ११, २०८० |कान्तिपुर टीभी संवाददाता
फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको अल्टिमेटम

पोखरा । मानवीय अतिक्रमणको चपेटामा परेको पोखराको फिर्केखोला मिचेर बनेका १६० वटा संरचना हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै खोलाघर मिचेर बनेका स्थायी/अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरले तीन महिनाअघि प्राविधिक टोली बनाएर खोलाको वास्तविक सीमांकन पहिचान गरी स्तम्भ गाडेको थियो ।

सोही टोलीले दिएको अध्ययन प्रतिवेदनका आधारमा महानगरले संरचना हटाउन अहिले सूचना जारी गरेको हो । महानगरले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पूर्ण रुपमा हटाउन निर्देशन दिएको छ । साथै उल्लेखित समयभित्र संरचना नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने बेहोरा जारी सूचनामा उल्लेख छ ।

अध्ययन टोलीको प्रतिवेदनअनुसार १६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघ-संस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अँधेरी कुनादेखि पोखराको मध्य भाग हुँदै बगेर फेवातालमा मिसिने फिर्के खोला करिब आठ किलोमिटर लामो छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement