दार्चुलाको तिंकरमा हिमपात, छाङ्‍रूमा असिनापानी

आश्विन २९, २०८० |मनोज बडू
दार्चुलाको तिंकरमा हिमपात, छाङ्‍रूमा असिनापानी

दार्चुला । जिल्लाका उच्च लेकाली भेगमा हिमपात हुँदा चिसो बढेको छ ।

आइतबार बेलुका परेको हिमपातले दार्चुलाको तल्लो क्षेत्रमा समेत चिसो बढेको छ । लेकाली भेगको हिमपातले उँचाइका बस्तीमा चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।

मौसम बदली भई आइतबार बेलुकातिर हिमपात भएको दार्चुलाको ब्यास गाउँपालिका–१ तिंकरका स्थानीय हितेश बुढाथोकीले जानकारी दिए । शनिबार र आइतबार तिंकरमा हिमपात भएको हो ।

ब्यास गाउँपालिका–१ कै छाङ्‍रूमा असिनासहित वर्षा भएको छ । जिल्लाका अन्य लेकाली क्षेत्रका उच्च भागहरूमा हिमपात भएको र बस्तीमा असिनासहितको वर्षा भएको स्थानीयले बताएका छन् । जिल्लाको सबैभन्दा उँचाइमा रहेको तिंकर गाउँमा मात्र हिमपात भएको बुढाथोकीको भनाइ छ ।

अपीहिमाल गाउँपालिकाका उच्च भेगमा पनि हिमपात भएको छ । अपीहिमालका उचाइमा बस्तीमा वर्षा मात्र भएको स्थानीय विशन सिंह बुढाथोकीले बताए । उनका अनुसार घुसा र खण्डेश्वरीका लेकतिर हिमपात भएको छ । माथिल्लो क्षेत्रको हिमपातले सदरमुकाम खलङ्गा लगायतका तल्ला बस्तीहरूमा चिसो बढेको छ ।

असिनापानीले फलफूल र तरकारीमा क्षति, किसान चिन्तित

जिल्लाका विभिन्न स्थानमा असिनापानीले तरकारी, फलफूल तथा बालीनालीमा क्षति पुर्‍याएको छ । आइतबार पौने ५ बजेदेखि आधा घण्टा परेको ठूलो असिनापानीले पाक्दै गरेको फलफूल र तरकारीमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । असिना पानीका कारण लेकम गाउँपालिकाका विभिन्न स्थानहरूमा फलफूल र तरकारी खेती नष्ट गरेको लेकम गाउँपालिका–५ पिर्तोलीका गोपालसिंह खत्रीले बताए । उनको पोलिहाउसमा लगाएको काउली, बन्दा, ब्रो काउली, गोलभेँडा लगायतका तरकारी बाली नष्ट गरेको छ । पाकेको कागती र पाक्नै लागेको मौसमी, सुन्तला, हलुवाबेद लगायत फलफूलमा क्षति गरेको उनको भनाई छ ।

ग्रामीण भेगमा किसानहरूले लगाएको सानो/ठूलो तरकारी र फलफूल खेतीमा असिनाले ठूलै क्षति गरेको छ । ‘खानका लागि तयारी हुँदै गरेको तरकारी र फलफूलमा ठूलो क्षति गरेको छ’, गोपालसिंहले भने, ‘तरकारी र फलफूलमै आश्रित परिवारलाई समस्या भयो ।’ तरकारी र फलफूल उत्पादन घट्ने र आयस्रोत गुम्ने चिन्ता थपिएको उनको भनाई छ । जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो क्षति भए पनि यकिन विवरण भने आई नसकेको स्थानीय तहका कृषि शाखाहरूले जनाएका छन् ।

त्यस्तै खेतमा पाकेको धान, भटमास लगायतका बालीहरू असिनाले नष्ट गरेको हो । पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । पाकेको बाली भित्र्याउन नपाउँदा निकै दुःख लागेको ब्यास गाउँपालिका–५ का जयभान सिंह धामीले बताए । उनको पाकेको मकै पनि भिजाएको छ । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्‍याएको छ । फागलाहरुमा काटेको खर भिजेर नष्ट भएको यहाँका स्थानीय महिलाहरूले बताएका छन् ।

जिल्लाका लेकम, मालिकार्जुन गाउँपालिका तथा महाकाली, शैल्यशिखर नगरपालिका विभिन्न ठाउँहरूमा असिनापानीले नोक्सानी गरेको छ । बाक्लो हिउँ परेस्तै असिनाले खेतबारी ढाक्दा ठूलो नोक्सानी बेहोर्नुपरेको किसानहरूले दुःख व्यक्त गरेका छन् ।

भित्र्याउन बाँकी रहेको अन्न बालीमा समेत क्षति पुगेको किसानहरूले बताएका छन् । असिनाले किसानलाई बर्सेनि दुःख दिने गरेको छ । कृषि बिमासमेत नभएकोले ठूलो नोक्सानि बेहोर्नुपर्ने बाध्यतामा किसान छन् ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।