वसन्तपुरस्थित दसैं घरमा यसरी राखियो जमरा (फोटो फिचर)

आश्विन २८, २०८० |राजेन्द्र महर्जन
वसन्तपुरस्थित दसैं घरमा यसरी राखियो जमरा (फोटो फिचर)

काठमाडौं । नेपालीहरुको बडा दसैं पर्व आज सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिएको छ ।

आश्विन शुल्क प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा वसन्तपुरस्थित दसैंघरमा जमरा राखिएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

१५ दिनसम्म मनाइने दसैंको पहिलो दिन आज घरका पूजाकोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना गरी घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आहृवान गरी पूजा आरम्भ हुन्छ ।

आज नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौं रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । आज रोपिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

हनुमानढोकास्थित दसैं घरमा जमरा राख्दाबखतका सेनाको एक टोलीले ब्यान्डबाजासहित मंगल धुन बनाएको थियो । बन्दुक पड्काएर बढाइँ गरिएको थियो । हेरौं थप तस्बिर :


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।