भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा

आश्विन २५, २०८० |मनोज बडू
भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन् । हेलिकोप्टरबाट बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका छन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दूरदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कैलाश दर्जनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग समान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले भने, ‘अनौपचारिक जानकारी अनुसार अतिक्रमित क्षेत्रमा भारतीय प्रधानमन्त्री भ्रमणमा पुगेको जानकारी लिएका छौँ, त्यस बाहेक अन्य कुनै जानकारी आएको छैन ।’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ । 

तस्बिर : नरेन्द्र मोदीको ट्विटरबाट


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।