इजरायलमा मारिएका १० नेपालीमध्ये सुदूरपश्चिम प्रदेशका मात्रै सात जना

आश्विन २२, २०८० |टेकराज जोशी
इजरायलमा मारिएका १० नेपालीमध्ये सुदूरपश्चिम प्रदेशका मात्रै सात जना

धनगढी । प्यालेस्टिनी लडाकु हमास समूहको आक्रमणमा परी इजरायलमा सुदूरपश्चिमबाट गएका ७ नेपाली विद्यार्थी मारिएको खबरले अहिले प्रदेश नै शोकमा डुबेको छ । सन्तान आउने बाटो कुरिरहेका परिवारका सदस्य तथा आफन्तजन रुदै बस्नु परेको छ । मृतकका परिवारलाई समाल्हिनै गाह्रो भएको छ । आफन्तहरु भेला भएर उनीहरुलाई सान्त्वना दिइरहेका छन् । 

इजरायलमा ज्यान गुमाउने १० मध्ये सात विद्यार्थी सुदूरपश्चिमका रहेको पुष्टि भएको छ । तेल अभिभस्थित नेपाली राजदूतावासकाअनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिकाका गणेशकुमार नेपाली, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, डोटी शिखर नगरपालिकाका राजन फुलारा, डोटी लामी खालका पदम थापा र दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी छन् ।

नारायणप्रसाद न्यौपानेको परिवार ।

परराष्ट्र मन्त्रालयकाअनुसार कैलाली, टीकापुरका धनबहादुर चौधरीको उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का विपीन जोशी बेपत्ता छन् भने त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी सुरक्षित रहेको जनाइएको छ ।

उनीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘लर्न एन्ड अर्न’ प्रोग्रामका लागि इजरायल पुगेका थिए। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । सो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरू पठाएको थियो । जसमध्ये ११ जना छात्रा छन् ।

नारायणप्रसाद न्यौपानेको घर।

उनीहरू बसेको स्थान द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीलाई ६ वटा समूहमा विभाजन गरी अलग-अलग कृषि फार्ममा पठाइएको थियो ।

यसैबीच धनगढीका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले द्वन्द्वमा फसेका विद्यार्थीको उद्धारमा ढिलाइ गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै केही समय प्रशासन घेराउसमेत गरेका छन् । 


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।