इजरायलमा भएको आतंकवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

आश्विन २१, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा भएको आतंकवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । नेपालले इजरायलमा भएको आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते भएकोप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायली भूमिमा आंतकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो ।

इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

आतंकवादी आक्रमणमा नेपाली पनि परेका परराष्ट्र मन्त्रालयले जनाएको छ। आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।

                   इजरायलमा भएको आक्रमणमा ९ नेपाली घाइते, दुईको अवस्था चिन्ताजनक

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले जनाएको छ ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत गरी त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलब्ध गराएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement