इजरायलमा भएको आक्रमणमा ९ नेपाली घाइते, दुईको अवस्था चिन्ताजनक

आश्विन २०, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा भएको आक्रमणमा ९ नेपाली घाइते, दुईको अवस्था चिन्ताजनक

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको भीषण आक्रमणमा नेपाली पनि परेका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको रकेट आक्रमणमा नौ नेपाली विद्यार्थी घाइते भएका जानकारी दिइन् । घाइतेमध्ये दुई नेपालीको अवस्था चिन्ताजनक रहेको उनले जनाइन् ।

उनकाअनुसार दक्षिण इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरु ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

विद्रोहीले नेपाली रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएकाले उद्धार गर्न कठिनाइ भइरहेको रिजालले बताइन् । सो क्षेत्रमा १७ नेपाली रहेका छन् । त्यस क्षेत्रमा रहेका नेपालीहरु घरभित्रैको सेल्टरमा सुरक्षित रहेको राजदूत रिजालले जानकारी दिइन् । इजरायलमा हरेक घरभित्र आक्रमणको समयमा सुरक्षित रुपमा बस्न सेल्टर (बंगर) को व्यवस्था गरिएको हुन्छ ।

गैरआवासीय नेपाली संघ इजरायलले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएको जनाएको छ ।

तेलअभिभस्थित दूतावासले पनि स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न नेपालीलाई अपिल गरेको छ ।

अफ्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको पनि दूतावासको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement