केएमसीमा प्रदर्शनरत डाक्टर भन्छन्- प्रहरी र अस्पताल प्रशासन दुवैबाट सहयोग भएन

आश्विन १४, २०८० |कृपाल गौतम
केएमसीमा प्रदर्शनरत डाक्टर भन्छन्- प्रहरी र अस्पताल प्रशासन दुवैबाट सहयोग भएन

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको बहिरंग विभाग (ओपीडी) मा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेको विरोधमा त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य-संस्थामाथि भएको हातपातको विरोधमा आन्दोलनरत चिकित्सकसँग सरकारले सहमति गरेको भोलिपल्टै (आइतबार) चिकित्सकमाथि पुनः हातपात भएको हो ।

अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूले केएमसी अस्पतालअगाडि जम्मा भएर नाराबाजी गरेका हुन् । उनीहरुले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग राखेका थिए ।

प्रदर्शन गरिरहेका इन्टर्न डाक्टर कृतिक पोखरेल भन्छन्, ‘हाम्रो साथीलाई बिनागल्ती पिटिएको छ । पिट्नेलाई कारबाही गर्नुपर्यो हाम्रो माग त्यही हो ।’

यसरी आक्रमण हुँदा प्रहरी र अस्पताल प्रशासन दुवैबाट आफूहरुले सहयोग नपाएको उनीहरुको गुनासो छ ।

अर्का इन्टर्न डाक्टर अनिकेत केशरी भन्छन्, ‘हामी बिरामीलाई सेवा गर्न पढेर, मिहिनेत गरेर बसेका छौं । हामीले शतप्रतिशत गर्दा पनि सकेनौं भने हामीलाई पिटिन्छ भने त हामी कसरी काम गर्ने ?’

आफूहरुलाई कार्यस्थलमा सुरक्षाको अनुभूति हुनुपर्ने र चिकित्सकमाथि हातपात तथा आक्रमण गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने भन्ने माग राख्दै पाँच दिनदेखि आन्दोलनरत चिकित्सकसँग सरकारले शनिबार राति ६ बुँदे सहमति गरेको थियो ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।