सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग गठन

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग गठन

काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन भएको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारका बहालवाला दुई उपसचिव र सुरक्षासँग जोडिएका एक अधिकारी सदस्य रहने गरी आयोग गठन गर्ने निर्णय भएको छ । 

आयोगको सदस्यहरुमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको एक मन्त्रीले जानकारी दिए । 

सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइएको छ । 

सुन तस्करी प्रकरणमा आयोग बनाउने सहमति, यस्तो छ कार्यादेश

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन् ।

यसअघि आज बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.