
काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमु प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भएको छलफलमा आयोग गठन र त्यसको कार्यादेशका विषयमा सहमति भएको हो ।
बैठकमा सहभागी एमाले संसदीय दलका सचेत महेश बर्तौलाकाअनुसार उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने सहमति भएको छ । सरकारले आजै आयोग गठन गर्ने र आजैदेखि कार्य प्रारम्भ हुने उनले जानकारी दिए । आयोगको कार्यावधी तीन महिना रहनेछ ।
आयोगलाई गत साउन २ गते ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो सुन, इलेक्ट्रिक सिगरेट (भेप्स) मा राखेर भित्र्याइएको सुनलगायतको प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी यस्तो किसिमको तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुन परिमार्जन, संरचनागत सुधारका साथै सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानको अध्ययन गरी थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानविन अनुसन्धान गरी कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ ।
‘विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निस्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, सरचनागत सुधार र पटक–पटकका सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानविन अनुसन्धान गरी कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने ।’ कार्यादेशमा उल्लेख छ ।
बैठकको सहमतिबारे जानकारी दिँदै गर्तौैलाले भने, ‘उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बन्नेछ । त्यो आयोगले तीन महिना भित्रमा आफ्नो कार्य सम्पन्न गर्नेछ । आयोग आजै घोषणा हुनेछ ।’
उनले आज बस्ने प्रतिनिधिसभाको बैठक अगाडि नै मन्त्रिपरिषदको बैठकले आयोग गठनको निर्णय गर्ने जानकारी दिए । ‘दिउँसो १ बजेको प्रतिनिधि सभा बैठक अगाडि नै मन्त्रिपरिषदको बैठक बसेर सरकारले आयोग गठन गर्ने र आजैदेखि कार्य प्रारम्भ हुने सहमति भएको छ,’ उनले भने, ‘त्यसो हुँदाखेरी आजको संसद स्वभाविक ढंगबाट जानेछ । संसदको पहिलो सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र चीन भ्रमणबारे जानकारी गराउनु हुनेछ ।’
यस्तो छ आयोगको कार्यादेश :
