सवारीको नाममा नागरिकलाई सास्ती दिने कार्यको अन्त्य हुनुपर्छ : हरिवंश आचार्य

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सवारीको नाममा नागरिकलाई सास्ती दिने कार्यको अन्त्य हुनुपर्छ : हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने जनाएका छन्। आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् । 

उनले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको बिरोध गरे । उनले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए । ‘कहिले काहीँ यस्तो लाग्छ कि, अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ । हाम्रो देशमा ठूला-ठूला मान्छेहरुको सवारी रे । सवारी पहिला-पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो । तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ । त्यसलाई त्यति ठूलो दर्जा दिइएको छ कि कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ,’ उनले भने, ‘बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ । भित्रभित्रै रिस उठ्छ । सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा । यसलाई पनि करेक्सन गर्नुपर्छ । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ ।’

उनले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने उल्लेख गरे । राज्यले पब्लिक ट्रान्सपोर्टेसनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको आचार्यको भनाइ थियो । उनले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने सुझाए ।

‘सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख पाउँदैनन् । ट्राफिक जामको त्यत्ति नै ठूलो समस्या विभिन्न देशका सहरमा छन् तर त्यहाँ सबैभन्दा ठूलो आधार भनेको सार्वजनिक यातायात हो,’ उनले भने, ‘राज्यले पब्लिक ट्रान्सपोर्टेसनमा बढी लगानी गर्नुपर्छ । तर हाम्रो देशमा सार्वजनिक यातायातमा सरकारको लगानी भनेको एउटा सर्वजनिक बसमा छ । त्यो पनि अर्ध सरकारी हो । त्यो बाहेक यातायातको साधनमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हाम्रो देशमा ट्राफिक स्टप नै छैन, गाडी रोक्ने ठाउँ नै छैन ।’ उनले बिरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्न नहुने पनि जनाए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.