पर्वतमा बाढीले बगाएको जिप भेटियो, एक शव फेला

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
पर्वतमा बाढीले बगाएको जिप भेटियो, एक शव फेला

पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित तमादी खोलामा आएको बाढीले बगाएको जिप मोदी र तमादी खोलाको दोभानमा फेला परेको छ ।

कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा शनिबार साँझ साढे ६ बजेतिर बाढीले जिप बगाएको थियो । उक्त जिप कुश्मा नगरपालिका–८ को मोदी र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा फेला परेको हो ।

जिपसँगै तीन जना बेपत्ता भएकामा एक यात्रु मृत भेटिएका छन् । जिपभन्दा बाहिर उछिट्टिएको अवस्थामा तिलोत्तमा नगरपालिका-९ का गोपालप्रसाद बस्यालको शव भेटिएको हो । जिपमा रहेका अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप शनिबार साँझ तमादी खोलामा आएको बाढीले बगाएको थियो । खोलामा बाढीले ल्याएको ढुंगा पन्छाउने क्रममा एक्कासी बहाव बढ्न गई जिप बगेको थियो । ढुंगा पन्छाउन जिपबाट झरेका चालक वसन्त थापा भने ज्यान जोगाउन सफल भएका छन् ।

शनिबार साँझ कुश्मा नगरपालिका र माथिल्लो भागमा भीषण वर्षा भएको थियो । भारी वर्षा भएपछि तमादीलगायत खोलामा एक्कासी बाढी आएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.