भारतमा रहेका नेपालीले पनि मनाए तिज

आश्विन १, २०८० |राजेश मिश्र
भारतमा रहेका नेपालीले पनि मनाए तिज

नयाँदिल्ली । दिल्लीमा रहेका प्रवासी नेपालीले हिन्दु महिलाको महान् पर्व तिजका अवसरमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वारले दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियम (आईटीओ) मा आयोजना गरेको कार्यक्रममा हजारौंको संख्यामा प्रवासी नेपालीको उपस्थिति थियो । योगगुरु रामदेव र आचार्य बालकृष्णको उपस्थिति रहेको यस कार्यक्रममा नेपाली भाषा, साहित्य, कलालगायत क्षेत्रमा योगदान गरेकाहरूलाई सम्मानित पनि गरिएको थियो । प्राध्यापक महेन्द्र पी. लामा, कलाकार विपना थापासहित दर्जनौं व्यक्तिलाई सम्मान गरिएको हो ।

नेपाल र भारतका गायक र कलाकार विभिन्न प्रस्तुति दिएका थिए ।

आयोजक हाम्रो स्वाभिमान ट्रस्टले नेपाली संस्कृति, परम्परा एवं भाषाप्रति सम्मान बढाउन तथा यसलाई वैश्विक स्तरमा प्रसार गर्न तिज महोत्सव हरेक वर्ष आयोजना गर्दै आएको जनाएको छ ।

दिल्लीको तालकटोरा स्टेडियमममा पनि नेपालीको अर्को संस्था स्वाभिमान ट्रस्टले कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै, अखिल भारत नेपाल एकता मञ्चले पनि सांस्कृतिक कार्यक्रमसहित तिज महोत्सव सोमबार मनाएको छ ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।