काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मांस, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आजदेखि लागु हुने गरी पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । साथै सूचनाको उल्लंघन गरेमा कानुनअनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ ।
पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले मासु र मदिरा निषेध गरिएको हो ।