‘हटारू’ बस्ने बंगलाको कथा

भाद्र २९, २०८० |जे पाण्डे
‘हटारू’ बस्ने बंगलाको कथा

नेपालगन्ज । हिमाली जिल्ला मुगुका अम्मलाल रावल र उनका साथीहरू नुन किन्न कर्णाली नदीको तिरतिरै तराईका हाटबजार झर्थे । कुनै वर्ष नेपालगन्ज त कुनै वर्ष कैलाली र अछाम जोड्ने मार्गमा पर्नेे चिसापानी र कटाँसेका हाटमा ।

२०३२/३३ सालतिर उनी अन्तिमपटक हाट आएका थिए । मुगुको सुकाढिकबाट रावलसहित झरेका हटारूहरू कटासे पुग्दा हाटबजार लगाउन छाप्रा निर्माणको काम भइरहेको थियो । ‘नुन लिन कि तिब्बतको ताक्लाकोट धाउनुपर्थ्यो । कि नुन लिएर आउने भोटेसँग चामलसँग साट्नुपर्थ्यो ।

‘चीनले नुन रोक्दा गाउँमा ठूलै संकट आइलाग्यो । खाँचो टार्न तराईका हाट नधाई सुखै थिएन । अहिले त घर–आँगननजिक धुलाचौरमै बजार छ । हाट जानुपर्ने अवस्था अन्त्य भयो,’ ७१ वर्षीय रावलले भने, समयसँगै हाट र हटारूको सम्बन्ध खुम्चिँदै गयो ।’

तीन महिना लगाए नुन गाउँ पुर्याउँदा ओल्लोपल्लो घर छिमेकीको भेला नै लाग्थ्यो । खुसीको सीमा हुँदैनथ्यो । रावल अझै पनि उतिबेलाको त्यो क्षण झल्झली सम्झिन्छन्, ‘तीन पाथी चामल । त्यो पनि राता चामलमा एक पाथी नुन साट्थ्यौं ।’

माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो । हटारूहरू हाट आउनै नसक्ने भए । हाट र हटारू साघुरिँदै गए । हिमाल, पहाड र तराई–मधेश गर्ने भरियाहरू निर्धक्क हुँदै उकाली–ओराली गरेको देखिन छाड्यो ।

चीनको तिब्बतसँग सीमा जोडिएको कर्णालीको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पाजस्ता हिमाली क्षेत्रका बासिन्दा नुन, तेलसँगै लत्ताकपडा किन्न नेपालगन्ज झर्थे । त्यतिबेला उच्च हिमाली र पहाडी जिल्लाबाट नेपालगन्जसँगै तराईका विभिन्न हाटबजारमा आउनेहरूलाई ‘हटारू’ भनिन्थ्यो । धेरै ‘हटारू’ बस्ने भएकाले नेपालगन्ज एउटा ‘हटारू होटेल’ नै सञ्चालनमा थियो ।

एक/दुई सय जनालाई खाना पकाएर खान र बस्न मिल्ने गरी टिनले छाएको टहरा उतिबेला हाट आउनेहरूका लागि बंगला समान थिए । तीनै बंगलामा बसेर हटारूहरू वर्षभरिका लागि पुग्ने घरायसी उपभोग्यवस्तु किनमेल गरी डोकोमा बोकेर हिमाली र पहाडी गाउँबस्तीतिर उक्लिन्थे । किनकि उतिबेला नेपालगन्ज अहिलेको जस्तो थिएन ।

उच्च हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ का गौरीशंकर उपाध्यायको मनमा त्यो बेलाको नेपालगन्ज र हटारूको भावनासँग जोडिएको दैलेखी बंगलाको सम्झना अझै ताजा छ । ‘बुबा र दाजुहरू हाट गएको मलाई पनि थाहा छ । जान आउन मात्रै एक/डेढ महिना लाग्यो । अब त ती दिनहरू इतिहास भइसके,’ उपाध्यायले भने । हाट र हटारूको सम्बन्ध २०५० सालसम्म जीवन्त थियो । माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो । हटारूहरू हाट आउनै नसक्ने भए । हाट र हटारू साघुरिँदै गए । हिमाल, पहाड र तराई–मधेश गर्ने भरियाहरू निर्धक्क हुँदै उकाली–ओराली गरेको देखिन छाड्यो ।

नुन नभई नहुने हुँदा २०५५/२०५६ सालमा नेपालगन्ज झर्न नसके पनि रुकुमको चौरजहारीसम्म पुगेर किनमेल गरेको बताउँछन् । ‘आफैंले नुन बोकेर ल्याएँ,’ उपाध्यायले भने, ‘त्यसपछि त हाट आउने/जाने हटारूहरू देखिनै छाडे ।’ द्वन्द्वको असरले खुम्चिएका हटारूहरूलाई सडक सञ्जाल पनि हाट बजारसँगको सम्बन्ध तोड्न सहायक बन्यो । सडक र यातायातका साधन गाउँमै पुग्न थालेपछि नेपालगन्ज धाउनै नपर्ने भएको उनी बताउँछन् ।

भोटेहरू भेडा र खच्चडमा बोकाएर हिमाली र पहाडी गाउँबस्तीमा नुनसँग चामल साट्न आउँथे । विस्तारै भोटेहरू पनि पलायन भए ।

सडक सन्जालको विकास र विस्तार भएसँगै हाटबजार र हटारूहरूको आर्थिक करोबारको सम्बन्ध तोडिएको त थियो नै हटारूहरूको भावनासँग जोडिएको भौतिक पूर्वाधारको अस्तित्वसमेत मेटिएको छ । त्यति मात्रै कहाँ हो र समयको चक्रसँगै ऊ बेलामा हाट र हटारूहरूको कथा, व्यथाको बिसौनी अर्थात् नेपालगन्जको दैलेखी बंगला अब सम्झनामा मात्रै रहने भएको छ । नेपालगन्ज उपमहानरपालिका प्रमुख प्रशान्त विष्ट आफैं उपस्थित भएर भदौ १३ गते दिउँसो बंगलामा डोजर चलाएर ऐतिहासिक धरोहर ढलाइदिए । तर उपमहानगर बंगला ढालेको स्थानमा पुरानो इतिहासको सम्झना रहने गरी दैलेखी संग्रहालय निर्माण गर्ने योजनमा छ । ‘यसको ऐतिहासिक पहिचान बचाइनेछ । दैलेखी र नेपालगन्जसँगको सम्बन्ध बचाउँदै संग्रहालय निर्माण गर्नेछौं,’ नेपालगन्ज उपमहानरपालिका प्रमुख विष्टले भने ।

चीनको नियन्त्रण नहुँदासम्म तिब्बत र त्यहाँको सीमावर्ती क्षेत्रका भोटेहरू भेडा र खच्चडमा बोकाएर हिमाली र पहाडी गाउँबस्तीमा नुनसँग चामल साट्न आउँथे । विस्तारै भोटेहरू पनि पलायन भए । हिमाली र पहाडी बस्तीमा नुनको अभाव हुन थाल्यो । विकल्पमा कर्णालीका बासिन्दा किनमेलका लागि डोकामा घिउ बोकेर तराईका हाटबजार आउने क्रम सुरु भयो ।

जंगबहादुर राणाले सन् १८५७ को इस्ट इन्डिया कम्पनी सरकारविरुद्धको सिपाही विद्रोह दबाउन भारतलाई सहयोग गरे । तत्कालीन ब्रिटिस इस्ट इन्डिया सरकारले सुगौली सन्धिपश्चात् गुमाएको तराईको ठूलो हिस्साबाट पश्चिम बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भूभाग सन् १८६० मा नेपाललाई फिर्ता गर्यो । जंगबहादुरले नै नेपालगन्जमा बस्ती पनि बसाले । सन् १९४७ मा भारत स्वतन्त्र भएलगत्तै भारतीय बनियाँहरू मालसमान बिक्री गर्न यतै आउने क्रम सुरु भयो ।

नेपालगन्जमा ‘हटिया’ अर्थात हाटबजार लाग्न थाले । तिनै हाटबजारमा आउनेहरूको मिलनविन्दु दैलेखी बंगला भत्काए पनि ऐतिहासिक पक्षको जगेर्ना गरिने भएको छ ।

क्याप्सन : हाट र हटारूको भावनात्मक सम्बन्धको जगमा बनेको दैलेखी बंगला भत्काउँदै नेपालगन्ज उपमहानारपालिकाको डोजर र सुरक्षकर्मी । तस्बिर : जे पाण्डे/कान्तिपुर टेलिभिजन

‘दैलेखबाट यहाँको बजारमा आउनेहरूको सहारा स्थल थियो दैलेखी बंगला । अब दैलेखको कला, संस्कृति, भाषा, भेषको पहिचान गराउन र भूगोलसँगको भावनात्मक सम्बन्ध कायमै राख्ने प्रयास गर्नेछौं,’ भत्काएको बंगलानजिकै रहेको नेपालगन्ज उपमहानरपालिका २ का वडाध्यक्ष मनोज श्रेष्ठले भने, ‘पुरानो नाता सम्बन्धलाई अझै निकट तुल्याउने प्रयासमा छौं ।’ उनका अनुसार निर्माण गरिने संग्रहालयले तराई र हिमाल, पहाडबीच युगौं युगदेखि रहँदै र चल्दै आएको व्यापारलाई जोड्नेछ ।

दैलेखी बंगला हिमाल–पहाडबाट झर्ने उपभोक्तासँगै व्यापारीको पनि साझा घरजस्तै थियो । भोटबाट भोटेहरूले नुन ल्याउन छाडेपछि तराई झर्ने क्रम तीव्र भएको थियो । त्यतिबेला गाई–भैंसीसँगै चिउरीको घिउ, चुक, मह, ऊनलगायत उत्पादन डोकाहरूमा बोकेर तराई झर्नेहरू दैलेखी बंगलामा बसेर वस्तु विनिमय गर्थे ।

तिब्बत चीनको नियन्त्रणमा पुगेपछि नेपाली बस्तीमा नुनसँग चामल साट्न आउने तिब्बती भोटेहरू भारत पलायन हुने क्रम बढ्यो । कतिपय भोटेले नेपालका उच्च हिमाली क्षेत्रमा बसेर व्यवसाय गर्न थाले ।

राणाकालको अन्त्यतिर हिमाल पहाडको पूर्वपश्चिम भेक दुईतिरबाट झर्नेहरूका लागि दैलेखी र सल्यानी बंगला अर्थात् यस्ता ठुल्ठूला टहरा निर्माण गरेको थियो । तर सहर विकास भएसँगै बंगला अतिक्रमणको चपेटामा परेपछि उपमहनगरले भत्काएसँगै करिब डेढ सय वर्ष पुरानो आर्थिक कारोबारीको भावनासँग जोडिएको आश्रयस्थलको अस्तित्व समाप्त भएको छ ।

इतिहासविदहरूका अनुसार तिब्बत चीनको नियन्त्रणमा पुगेपछि नेपाली बस्तीमा नुनसँग चामल साट्न आउने तिब्बती भोटेहरू भारत पलायन हुने क्रम बढ्यो । कतिपय भोटेले नेपालका उच्च हिमाली क्षेत्रमा बसेर व्यवसाय गर्न थाले । दाङको कोइलाबास र बर्दियाको राजापुर, कैलाली र कञ्चनपुरको सीमावर्तीे क्षेत्रमा हाटबजारको सुरुवात भयो । जसले गर्दा हटारूहरू तराई झर्ने क्रम बढेको थियो ।

त्यसक्रममा नेपालगन्जमा हटारूका लागि दुई बेग्ला–बेग्लै बंगला निर्माण गरिएका थिए । तीमध्ये दैलेखी बंगला भत्काएर नयाँ स्वरूप दिने प्रयास भएको छ । हटारूको बास बस्ने अर्को थलो सल्यानी बंगलाको स्वरूप पनि परिवर्तन भइसकेको छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।