काठमाडौं । विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँहरुसँग नेपाली नागरिकताको प्रमाणपत्रसमेत रहेको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले गरिरहेको अनुसन्धानका क्रममा हङकङबाट आएको सुनमा चिनियाँ समूहको सञ्जाल मात्रै नभएर अधिकांशले नेपाली नागरिकता नै लिएर आपराधिक कार्य गरिरहेको देखिएको हो ।
एक महिनाअघि राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनमा अन्तरदेशीय आपराधिक समूहको संलग्नता देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा लगाएको थियो ।
‘नाम छिरिङ लामा, जन्मस्थान काठमाडौं, वडा नम्बर ६ । जन्ममिति २०४२ साल । बाबुको नाम टाण्डुप लामा । नागरिकताको किसिम वंशज ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता वाहक वास्तविक नेपाली भने होइनन् । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लि वेन छङ ले बनाएको नेपाली नागरिकता हो ।
उनीसँग सन् २०२२ मार्चमा जारी भएको ३६०३८७६६० नम्बरको चिनियाँ राहदानीसमेत बरामद भएको छ । उनले नेपाली नागरिकतासँगै नेपालको राहदानी पनि लिएको भेटिएको छ ।
उनीमात्र होइन, सुन तस्करीमा अनुसन्धान गरिरहेको सीआईबीले पक्राउ गरेका पाँच जना चिनियाँले नेपालको नागरिकता लिएको खुलेको छ । ईई ७२९५३७९ नम्बरको चिनियाँ राहदानी लिएर नेपाल आएका डिङ शेङ फाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०७८ पुस ८ गते राम लामाको नाममा ३०३०४१२२५४ नम्बरको नागरिकता र त्यसैका आधारमा १२५८९४५७ नम्बरको राहदानीसमेत लिएको भेटिएको छ ।
चिनियाँ नागरिक लि नेङ काईले पनि २०७८ सालमै सोनाम लामाको नाममा नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ । काभ्रेबाटै जारी भएको उनको १२५८९४५६ नम्बरको नेपाली राहदानी छ ।
सुन तस्करी काण्डमा नाइकेका रुपमा पक्राउ परेका दावा छिरिङले २०७४ साल पुसमा काभ्रेबाटै नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट देखिएको छ । चिनियाँ मूलका भारतीय नागरिक थुप्तेनले भारतको आधार कार्ड लिएका छन् ।
सुनकाण्डमा पक्राउ परेका चिनियाँले नेपालमा बसेर वंशजका आधारमा नागरिकता र त्यसैका आधारमा राहदानी लिएको विषय थप पेचिलो बनेको छ । पक्राउ परेका सबैसँग नेपालको नागरिकता र राहदानी भेटिनुले नेपालमा यो समुहलाई सहयोग गर्ने सरकारी तहकै व्यक्ति संलग्न रहेको आशंका प्रहरीको छ । पक्राउ परेका चिनियाँले नेपाली राहदानी बोकेर यात्रा गरे वा नगरेको बारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट समेत चिनियाँ नागरिकले नागरिकता लिएको भेटिएपछि उनीहरुको सुन धन्दामा सहयोग गर्ने को-को छन् भन्ने थप अनुसन्धानको विषय बनेको हो । यस पटक हङकङबाट ल्याइएको सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुमा नेपाली भन्सारमा खटिएका कर्मचारीबाहेक सबै चिनियाँहरु नै छन् ।
अहिलेसम्म सुन काण्डमा पक्राउ परेका २२ मध्ये पााच चिनियाँ, एक चिनियाँ मूलका भारतीय र अर्का एक चिनियाँ मूलका वेल्जियम नागरिक छन् । संगठित अपराधमा अनुसन्धानका लागि एक महिना समय बाँकी रहेकाले सीआईबीका लागि हङकङसम्मको सञ्जाल र सुनका मालिक पत्ता लगाउनुपर्ने छ ।