काठमाडौं । युद्धग्रस्त इरानबाट उद्दार गरिएका २ जना नेपाली भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । नेपाल सरकारको अनुरोधमा भारतले आफ्ना नागरिकसँगै २ जना नेपालीलाई पनि उद्धार गरी आज नयाँ दिल्ली ल्याएको हो ।
बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई इरानबाट उद्धार गरेर ल्याइएको नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार इरानबाट काठमाडौं ल्याउने तयारीमा रहेका ११ जनामध्ये ९ जनाको कागजी प्रकिया मिलाउन समय लाग्ने देखिएको छ । जस कारण उनीहरू स्वदेश फर्कन अझै केही दिन लाग्ने बताइएको छ ।
ती ११ जना पनि आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् । इरानमा रहेका नेपालीहरू विभिन्न दूतावास र इरानी रेस्टुराँमा काम गर्दै आएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानको मसदबाट विशेष विमानमार्फत २८१ भारतीय, ३ श्रीलंकाली र २ जना नेपालीको उद्धार गरिएको हो । उक्त विमान भारतीय समयअनुसार दिउँसो ३ बजे दिल्लीमा अवतरण भएको थियो ।
'अपरेशन सिन्धू' नाम दिइएको उद्धार अभियानमार्फत भारतले अहिलेसम्म २ हजार ५७६ भारतीयलाई स्वदेश ल्याइसकेको छ ।
इरानमा रहेका १६ जना नेपालीहरूमध्ये पाँच जना भने कारागारमा छन् । उनीहरूलाई पनि नेपाल फर्काउन कागजात जुटाउने काम भइरहेको मन्त्रालयको भनाइ छ । पाँचमध्ये तीन जनाको पासपोर्ट नभएकाले काठमाडौंबाट प्रक्रिया अघि बढाइएको छ ।
त्यसैगरी इजरायलमा रहेका साढे सात हजार नेपालीमध्ये अहिलेसम्म ९५१ जनाले आफ्नाबारे दूतावासलाई जानकारी दिएको र ४० जनाले नेपाल फर्कन फर्म भरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
इजरायल र इरान युद्धका कारण त्यहाँ रहेका नेपाली प्रभावित भएको भन्दै सरकारले दूतावासमार्फत सुरक्षित रहन र स्वदेश फर्काउनका लागि पहल गरिरहेको छ ।