खौँ पर्व : बाजुराको मौलिक पहिचान

भाद्र १, २०८० |मिमराज पाण्डेय
खौँ पर्व : बाजुराको मौलिक पहिचान

बाजुरा । धान रोपेको महिना दिन भयो । कोदो हरियाली छ । कुनै कुनै खेतबारीमा त मकै, चिनो र कागुनो पनि कलिलै छ । भित्रभित्र सिमी, भटमास र मुला फक्रिँदै छन् । दुहुना गाईभौंसी लेकबाट गाउँतिर झरिसके । बादल आकाशमा दौडिँदै छ, कुहिरो भुईँमा– गाउँलेहरू फुरुङ्ङ छन् ।

यस्तै सेरोफेरोमा यतिबेला बाजुराको धिम गाउँले ‘खौँ’ पर्व मनाइरहेको छ ।

‘खौँ’ लामो परम्परा– धिम गाउँको इतिहास र पहिचान बोकेको चाड हो । यो चाड ‘विक्रम संवतको झन्डै १५ सय सालतिरदेखि मनाउन थालिएको’ भन्ने सुन्दै आएको बुढापाकाहरू बताउँछन् । ‘खौँ’को अवसरमा प्रत्येक वर्ष भदौ १ देखि ३ गतेसम्म यहाँ मेला नै चल्छ ।

खासगरी बडादशैंभन्दा पनि बढ्ता महत्त्वका साथ बानादेव देवताको पूजाआजा गरी यस गाउँमा ‘खौँ’ मनाउने गरिएको पाइन्छ ।

‘खौँ’ को ऐतिहासिक महत्त्व

भनिन्छ– बानादेव देवता भोट जातिको देवता हो । यस देवताको उत्पत्ति जुम्लाको सिँजास्थित लामाथाडामा भएको हो । किंवदन्तीअनुसार- यो देवता जुम्लाबाट आएर धिम गाउँमा बसेको बुझिन्छ ।

यस गाउँमा जग्गा-जमिन धेरै भए पनि खडेरी पर्थ्यो । सबै खेतीपाती आकाशे पानीकै भरमा गरिने यहाँ पानी नपर्दा हरेक वर्ष भोकमरी र अनिकाल हुन्थ्यो, अकालमा मानिसले ज्यान गुमाउँथे ।

जानकार दीपचन्द्र उपाध्यायका अनुसार बानादेव देवता धिममा आएपछि यस गाउँका बासिन्दाले बानादेवसमक्ष वर्षाका लागि बिन्ती गरे । फलत: बानादेवले ‘मेघ’ दियो । वर्षा भयो र बालीनाली तङ्ग्रियो- गाउँलेमा खुसी भरियो ।

त्यही खुसीयालीमा गाउँलेले बानादेवको मन्दिर स्थापना गरी ‘जिउलो’ को रक्षकको रूपमा बानादेवलाई पूज्न थाले । यस देवताले ‘मेघ’ अर्थात् वर्षा मात्रै दिएको थिएन, गाउँलेलाई भयभीत बनाउने त्यस बखतका राक्षसहरूलाई पनि बानादेवले सम्हाल्यो । यसैबेलादेखि बानादेवको पूजाआजासहित हरेक भदौ महिनाको पहिला ३ दिन धुमधुमका साथ ‘खौँ’ पर्व मनाउने चलन बस्यो ।

के के गरिन्छ तीन दिनमा ?

‘खौँ’को पहिलो दिनलाई ‘पहिला खौँ’, अर्को दिन ‘माँझ खौँ’ र अन्तिम दिनलाई ‘छाड्डा खौँ’ भन्ने गरिन्छ । यी तीनै खौँको अघिल्लो दिन गाउँ घुमाएर जिउलो अर्थात् खेतपाखामै रागाँको बली दिने चलन छ । खौँ पर्वकै लागि भनेर हप्तादिन अगाडिदेखि नै बानादेवका लागि जमरा उमारिन्छ ।

दिनको हिसाबले पहिलो, माँझ वा छाड्डा खौँ भने पनि सबै दिन उस्ताउस्तै गतिविधि हुन्छन् । बानादेवसहित लवासुर, मस्टो, कालिका, चण्डिका र बज्जुजस्ता देवताको पूजाआजा, धामी झाँक्रीको रोमाञ्चक नाच, स्थानीय एवं जिल्लाबाहिरका देउडा खेलाडी निम्त्याएर ‘देउडा खेल प्रतियोगिता’, फुटबल तथा भलिबल प्रतियोगिता आदि यस पर्वका मुख्य आकर्षण हुन् ।

एउटा चलन भने अचम्मको छ- खौँ पर्वका बेला हेरेक बिहान गाईबस्तु गोठमा हुँदै खाजा-नास्ता खाइसक्नु पर्छ । वस्तुभाउलाई चरनका लागि वनमा पठाइसकेपछि भने घरभित्र केही पनि खान मिल्दैन । यदि त्यस समयमा कसैले घरमै केही खायो भने उसका बस्तुभाउले जिउलोमा पसी बाली खाइदिन्छन् भन्ने विश्वास छ । तर भोक सहनै नसके खेत वा बारीतिर पसेर खाजा नास्ता गर्ने पनि चलन छ ।

हरेक दिन अपराह्न २/३ बजेतिर देवताको पूजाआजा हुन्छ अनि बल्ल घरभित्रै खाना खाइन्छ ।

गाईबस्तु वन पठाउँदै देउडा खेल बिहानैदेखि सुरु हुन्छ । तीन दिनसम्म हरेक बेलुका मन्दिरमा बानादेवको नेजा (बाँसको अग्लो खम्बामा बनाइएको एक प्रकारको झन्डा) मन्दिरमा ल्याउने र हरेक बिहान बुढाबाडास्थित देउरोमा पुर्‍याउने गरिन्छ । हरेकदिन मुजेरा नाँच, देवताको पूजा र धामीझाँक्रीहरूको आकर्षक नाच हेर्न पाइन्छ । खौँ मेला हेर्न हुम्ला, मुगु, कालिकोटदेखि सयौँको संख्यामा मानिसहरू आउँछन् ।

यसपालि कसरी मनाइँदै छ ?

पछिल्ला २/३ वर्षायता खौँ पर्व खासै राम्ररी मनाइएको छैन । कहिले कोभिड-१९ को महामारीको डरले त कहिले अरू कुनै कारणले- खौँ पर्वको रामरमिता साँघुरिँदै आएको छ ।

यसपालि पनि विगतका वर्षहरूमा झैँ धामी झाँक्रीको नाच, स्थानीय देउडा खेलाडीहरूबीच देउडा प्रतियोगिता हुने स्थानीय मोहन रावतले जानकारी दिए । यससँगै परम्परादेखि चलिआएको नेजा ल्याउने/लैजाने र मुजेरा खेल्ने क्रियाकलाप पनि हुनेछ । ‘रामरमिता हेर्न पाहुनाहरू आउने क्रम जारी छ । तर पहिला पहिलाको जस्तो खौँको आकर्षण घटेको छ’ मोहनले भने ।

गाउँपालिकाको वेवास्ता

धिम गाउँ हिमाली गाउँपालिकाको ६ नम्बर वडा हो । गाउँपालिकाको केन्द्र पनि यसै वडाभित्र पर्छ । हुन त हिमाली गाउँपालिकाले यही वर्षको वैशाखमा माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सव पनि आयोजना गर्‍यो । समग्र कर्णालीकै संस्कृति एवं पर्यटनको प्रवर्द्धन र विकास गर्छौँ भन्ने देखाउन खोजेको गाउँपालिकाले ‘खौँ’ को भने वास्ता नगरेको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले यसपटक ‘खौँ’ का लागि गाउँपालिकाको कुनै तयारी नरहेको र त्यसबारे आफूलाई थाह पनि नभएको बताए । ‘शान्ति सुरक्षा व्यवस्था गर्ने कुरा हामी भन्दिन्छौँ’, अध्यक्ष मल्लले भने, ‘अरू त अब त्यहाँ के गर्नु र ? गाउँपालिकाले गर्नु पर्ने त्यस्तो केही छैन ।’

हराउँदै गरेको चलन

बुढापाका घट्दै गए । युवा पुस्ताको पलायनले धिम गाउँलाई पनि छोयो । गाउँमै भएकाहरूबाट पनि संस्कृत चेत हराउँदै गयो । सहरी मदिरा र विदेश फेसन गाउँ पस्यो– यससँगै खौँजस्ता चाडपर्वको महत्त्व घट्न थालेको छ । चालचलनहरू हराउँदै गएका छन् । आजकाल मदिरा सेवन गरी झै-झगडा गर्ने मौकाको रूप ‘खौँ’ हुन गएको छ । ‘पहिला पहिला धुमधुमका साथ खौँ मनाउने गरिन्थ्यो । आजकाल त्योखाले रौनक खौँको छैन’, बुद्धिजीवी दीपचन्द्र उपाध्यायले भने ।

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेका यस्ता चालचलनहरू लोप हुनु कदापि राम्रो होइन । यसको संरक्षणमा नयाँ-पुरानो पुस्ता सजक र जिम्मेवार हुनु जरुरी छ ।

तस्बिर : कमलराज पाण्डे


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । सामाजिक सञ्जालहरूमा उनलाई @mrpandeya लेखेर खोज्न सकिन्छ ।