हवाई उद्धारको पर्खाइमा बिरामी

श्रावण ३०, २०८० |जनकबहादुर शाही
हवाई उद्धारको पर्खाइमा बिरामी

हुम्ला । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाजको उडान नहुँदा हुम्लामा बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा चार बालबालिकाले ज्यान गुमाएका छन् । यस्तै आज (मंगलबार) पनि विमानस्थलमा जहाज उड्छ कि भन्ने प्रतीक्षामा बिरामी ल्याइएको छ ।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने प्राधिकरणको नियमका कारण लामो समयदेखि हवाई उडान हुन सकेको छैन । जसका कारण बिरामी तथा सर्वसाधारण मर्कामा परेका छन् । मंगलबार पनि खार्पुनाथ ५ खर्पेलगाउँ हुम्लाकी दिफकली सार्की थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जानुपर्ने भए पनि विमानस्थल परिसरमा जहाज कुरेर बस्नुपर्‍यो ।

साउन १६ गते सुत्केरी भएकी दिफकलीको रगतमा संक्रमण भएर रिफर गरेको पाँच दिनपछि उद्धारका लागि आज (मंगलबार) विमानस्थलमा प्रतीक्षारत थिइन् । उनलाई नियमित जहाजको उडान नहुने भएपछि नेपाली सेनाको हेलिकोप्टर उद्धार गर्ने तयारी गरेको छ ।

उनी सेनाको जहाजको प्रतीक्षामै विमानस्थलमा छिन् ।

हुम्लाको सिमकोट ६, माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका ७, डाँडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ १, लालीका डेढ वर्षका बालक आर्यन परियार र चंखेली ४ का पाँचमहिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो ।

अस्पताल ल्याइका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नुपर्ने भएपछि सुविधा सम्पन्न अस्पताल लैजान भनिएको थियो । तर जहाज नआउँदा घरै फिर्ता लगिएका बालक शाहीको गत बुधबार मृत्यु भएको थियो ।

यस्तै झाडापखालाकै कारण सिकिस्त भएका इमरान सुनारलाई पनि सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका चिकित्सक कैलाश लामाले जानकारी दिए । झाडापखालाले थलिएका उनको रगतमा संक्रमण देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पताल लैजान अस्पतालले सुझाव दिएको थियो ।

अस्पतालका चिकित्सक लामाका अनुसार निमोनियाँले थलिएका परियारको साउन ७ गते र कुपोषणले थलिएका लुवारको साउन ८ गते जहाज कुर्दाकुर्दै अस्पतालको शय्यामै ज्यान गुमाउनुपर्‍यो । जहाज नआउँदा समयमै सुविधा सम्पन्न अस्पतालमा लैजान नसक्दा ५, ६ र १८ महिनाका बालकको अस्पतालको बेडमै र ७ महिनाका बालकको उनकै घरमा मृत्यु भएको हो ।

यसैबीच पूर्ववत अवस्थाकै हवाई उडान हुनुपर्ने भन्दै हुम्लाका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत संघ सरकारको ध्यानाकर्षण गराउँदै प्राधिकरणलाई साउन १२ गतेको निर्णय फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।

आफूहरुको मागप्रति गम्भीर हुन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुम्लाका अगुवाहरुले प्राधिकरणको निर्णय अमान्य र अव्यवहारिक भएकाले आन्दोलित हुनुपर्ने अवस्था आएको जनाएका छन् ।

प्राधिकरणले गत साउन १२ गते गरेको निर्णयअनुसार आन्तरिकतर्फको हवाई उडान कार्यतालिकाको कारण हुम्लाका साथै हिमाली जिल्लाका २९ वटा विमानस्थलमा हवाई उडान प्रभावित हुँदै आएको छ ।

यो पनि...

जहाज कुर्दाकुर्दै हुम्लामा चार शिशुको मृत्यु, आन्दोलन गर्ने स्थानीयको चेतावानी

साढे १२ बजेपछि उडान रोक्ने निर्णय सच्याउन प्राधिकरणलाई हुम्लावासीको ४८ घण्टे अल्टिमेटम


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।