जहाज कुर्दाकुर्दै हुम्लामा चार शिशुको मृत्यु, आन्दोलन गर्ने स्थानीयको चेतावानी

श्रावण २९, २०८० |जनकबहादुर शाही
जहाज कुर्दाकुर्दै हुम्लामा चार शिशुको मृत्यु, आन्दोलन गर्ने स्थानीयको चेतावानी

हुम्ला । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण हवाई जहाज नआउँदा हुम्ला जिल्लामा चार शिशुले उपचार अभाव ज्यान गुमाएका छन् । दुर्गम जिल्ला हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

विमानस्थल पुग्दै फर्किंदै गर्नु सेवाग्राहीको दिनचर्या बनेको छ । यही चपेटामा परेर हुम्लाका चार बालकले ज्यान गुमाउनु परेको हो । हुम्लाको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७, डाँडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालीका डेढ वर्षका बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो ।

अस्पताल ल्याइका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नु पर्ने भएपछि सुविधा सम्पन्न अस्पताल लैजान भनिएको थियो । तर जहाज नआउँदा घरै फिर्ता लगिएका बालक शाहीको गत बुधबार मृत्यु भएको थियो । यस्तै झाडापखालाकै कारण सिकिस्त भएका इमरान सुनारलाई पनि सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका चिकित्सक कैलाश लामाले जानकारी दिए । झाडापखालाले थलिएका उनको रगतमा संक्रमण देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पताल लैजान अस्पतालले सुझाव दिएको थियो ।

अस्पतालका चिकित्सक लामाकाअनुसार निमोनियाले थलिएका परियारको साउन ७ गते र कुपोषणले थलिएका लुवारको साउन ८ गते जहाज कुर्दाकुर्दै अस्पतालको शैय्यामै ज्यान गुमाउनु पर्‍यो । जहाज नआउँदा समयमै सुविधा सम्पन्न अस्पतालमा लैजान नसक्दा ५, ६ र १८ महिनाका बालकको अस्पतालको बेडमै र ७ महिनाका बालकको उनकै घरमा मृत्यु भएको हो ।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नागरिक उड्डयन प्राधिकरणको नियमका कारण लामो समयदेखि हवाई उडान हुन सकेको छैन । जसका कारण बिरामी तथा सर्वसाधारण मर्कामा परेका छन् ।

प्राधिकरणले गरेको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावानी

नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि लागु गरेको नयाँ नियम हटाउन हुम्लाबासीले माग गरेका छन् । पुरानै समय तालिकाअनुसार हवाई उडान नियमित गराउन माग गर्दै स्थानीयले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहोबरमा भएको छलफलमा २/३ दिन भित्र प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि गत १४ गतेदेखि लागु गरेको नयाँ नियम फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्राधिकरणको साउन १५ गतेको परिपत्रअनुसार हिमाली जिल्लामा दिउँसो साढे १२ बजेपछि हवाई उडान बन्द गर्ने निर्णयले हुम्लामा उडान प्रभावित हुँदै आएको छ ।

बिहान ११, १२ बजेसम्म प्रतिकूल मौसमका कारण हवाई उडान हुन सक्दैन भने त्यसपछि प्राधिकरणको नयाँ नियमअनुसार उडान गर्न पाइँदैन । जसका कारण उडान हुन नसक्दा हुम्लीबासीले निकै सास्ती भोग्नु परेको छ ।

दुई दिने अल्टिमेटम दिएका हुम्लाबासीले यदि आफ्नो माग पूरा नभए मंगलबारदेखि सिमकोट विमानस्थलसँगै जिल्लाका सबै सरकारी कार्यालयमा ताला लगाउने चेतावानी दिएका छन् ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement