साढे १२ बजेपछि उडान रोक्ने निर्णय सच्याउन प्राधिकरणलाई हुम्लाबासीको ४८ घण्टे अल्टिमेटम

श्रावण ३०, २०८० |जनकबहादुर शाही
साढे १२ बजेपछि उडान रोक्ने निर्णय सच्याउन प्राधिकरणलाई हुम्लाबासीको ४८ घण्टे अल्टिमेटम

हुम्ला । पूर्ववत अवस्थाकै हवाई उडान हुनु पर्ने भन्दै हुम्लाबासीले नागरिक उड्डयन प्राधिकरणलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत संघ सरकारको ध्यानाकर्षण गराउँदै प्राधिकरणलाई साउन १२ गतेको निर्णय फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।

आफूहरुको मागप्रति गम्भीर हुन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुम्लाका अगुवाहरुले प्राधिकरणको निर्णय अमान्य र अव्यवहारिक भएकाले आन्दोलित हुनु पर्ने अवस्था आएको जनाएका छन् ।

प्राधिकरणले गत साउन १२ गते गरेको निर्णयअनुसार आन्तरिकतर्फको हवाई उडान कार्यतालिकाको कारण हुम्लाका साथै हिमाली जिल्लाका २९ वटा विमानस्थलमा हवाई उडान प्रभावित हुँदै आएको छ ।

हवाई सुरक्षा सतर्कता अपनाउने भन्दै दिउँसो साढे १२ बजेपछि उडानमा रोक लगाउने प्राधिकरणको निर्णयले हुम्लाबासी थप समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उपचार अभावमा बिरामीले ज्यान गुमाउनु परेको, परीक्षार्थी परीक्षा दिनबाट बञ्चित हुनु परेको, समयमा खाद्यान्न ढुवानी नहुँदा खाद्य अभाव भएको र समग्र हुम्लाको दैनिकीमा असर परेकाले पूर्ववत रुपमै हवाई उडान हुनु पर्ने उनीहरुको भनाइ छ ।

जिल्लामा क्रियाशील राजनीतिक दलका अगुवाहरुले ४८ घण्टा भित्र उडान कार्य तालिकामा पुन:विचार नगरे कडा आन्दोलनमा जाने चेतावनीसहित ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेसका जिल्ला कार्यवाहक सभापति कैलाश भण्डारीले बताए ।

यस्तै, हुम्ला नागरिक समाजका अध्यक्ष गणेश महतले आन्दोलन आफूहरुको रहर नभइ बाध्यता भएको जनाए । उनले भने, ‘आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो । यसैले नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले हाम्रो मागको सम्बोधन गरोस, यदि गर्दैन भने जिल्लामा कडाभन्दा कडा आन्दोलन गर्छौं ।’

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यो समस्या चाँडै समाधान हुनुपर्नेमा आफू सकारात्मक रहेको भन्दै प्राप्त ज्ञापन पत्रलाई मन्त्रालयमार्फत सम्बन्धित निकायमा तत्काल पुर्‍याउने प्रतिबद्धता जनाए ।

बिहान मौसम सफा नहुने तर दिउँसो साढे १२ बजेपछि मौसम खुल्ने भए पनि उडान भर्न नपाइने भएकाले हवाई सेवा अवरुद्ध भएको वास्तविकता नबुझी क्यानले साउन २८ गते प्रकाशन गरेको प्रेस विज्ञप्ति खेदजनक रहेको ज्ञापन पत्रमा उल्लेख छ । हवाई सेवा सञ्चालनका लागि अन्य विकल्प नभएकाले आन्दोलित हुनु परेको सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले जनाए ।

ज्ञापन पत्रमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, अकोराब हुम्ला, नागरिक समाज र गैसस महासंघले हस्ताक्षर गरेका छन् ।

नेपालका ७७ वटा जिल्लामध्ये हुम्ला जिल्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भौगोलिक कठिनाइका कारण हुम्ला जिल्ला पुग्ने सहज सडक मार्ग बन्न सकेको छैन । जसका कारण यो जिल्लामा यातायात साधनको एक मात्र विकल्प हवाई सेवा हो । तर प्राधिकरणको नयाँ नियमअनुसार दिउँसो साढे १२ बजेपछि हवाई उडानमा प्रतिबन्ध छ । त्यसअघि बिहान हवाई उडान गर्न सकिने भएपनि प्रतिकूल मौसमका कारण दिनहुँ उडान प्रभावित हुँदै आएको छ ।

बिहान प्रतिकूल मौसम र दिउँसो प्राधिकरणको नयाँ नियमले उडान नहुँदा हुम्लामा दुई हप्ताभन्दा बढीदेखि हवाई सेवा ठप्प छ । जिल्लाको सिमकोट विमानस्थलमा यात्रु पुग्छन् तर जहाज नआएपछि त्यसै घर फर्किन बाध्य छन् । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।