भोजपुर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बोलेरो टेम्केमैयुङ गाउँपालिका- २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ ।
शनिबार दिउसो ४ बजे १ ज ६८१६ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते हुनेमा भोजपुर नगरपालिका- ७ बस्ने वर्ष ४९ का सिराज शर्मा लुईंटेल, ईलाम माङसेवुङ-१ बस्ने वर्ष ३० का सुरेन्द्र राई र मोरङको सुन्दरहरैचा-५ का वर्ष २४ का निशान राई छन् । उनीहरू तीनै जनाको अनुहार र छातीमा चोट लागेको ट्राफिक प्रहरी सुरज मगरले जानकारी दिए ।
यस्तै घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका- ६ बस्ने वर्ष ३० को नवीन राई, भोजपुर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४४ का पूर्ण प्रधान, सोही ठाउँ बस्ने वर्ष १९ की सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा- ७ बस्ने वर्ष २५ को सुनील प्रधान सामान्य घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।