अबको २७ वर्षमा समुद्रमा माछाभन्दा प्लास्टिकजन्य फोहोर बढी हुने राष्ट्रसंघको अनुमान

श्रावण १७, २०८० |अमृत दाहाल
अबको २७ वर्षमा समुद्रमा माछाभन्दा प्लास्टिकजन्य फोहोर बढी हुने राष्ट्रसंघको अनुमान

काठमाडौं । एउटा सामान्य प्लास्टिकको झोला नष्ट हुन १ सयदेखि ५ सय वर्षसम्म लाग्छ । तर विश्वभर बर्सेनि बन्ने झण्डै ५ खर्बवटा प्लास्टिकका झोलाका कारण उत्पन्न प्लास्टिकजन्य प्रदूषणका कारण सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा प्लास्टिकजन्य फोहोर बढी हुने राष्ट्रसंघको अनुमान छ ।

वातावरण क्षेत्रमा कार्यरत संस्थाका अनुसार विश्वभर बर्सेनि ५ खर्ब वटा प्लास्टिक ब्याग उत्पादन हुन्छन् भने हरेक मिनेट १० लाख ब्याग प्रयोग भइरहेका हुन्छन् । जति उत्पादन भइरहेका छन्, त्यत्तिकै अनुपातमा विश्वभर प्लास्टिकजन्य फोहोर पनि बढिरहेका छन् । नेचर पत्रिकाका अनुसार विश्वभर बर्सेनि ४० करोड टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ । सन् १९५० मा १५ लाख टन रहेको प्लास्टिकको उत्पादन बढेर २०२१ मा ३९ करोड टन पुगेको तथ्यांक छ ।

उत्पादित प्लास्टिकमध्ये ९ प्रतिशत पुनःप्रयोग गरिन्छ, १२ प्रतिशत जलाइन्छ भने बाँकी ७९ प्रतिशत डम्पिङ साइटमा बिसर्जन गरिन्छ या त्यत्तिकै खुला छाडिन्छ । प्लास्टिकजन्य फोहोरबाट समुद्र सबैभन्दा बढी प्रदूषित हुने गरेको छ । राष्ट्रसंघीय वातावरणीय कार्यक्रम युनेपका अनुसार हरेक मिनेटमा एक ट्रक बराबरको प्लास्टिक फोहोर समुद्रमा बिर्सजन हुने गरेको छ । 

यही क्रम जारी रहे सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा प्लास्टिक बढी हुने युनेपको अनुमान छ । यस्तै, प्लास्टिक ब्यागका कारण बर्सेनि १ लाख जलचर मारिने गरेका छन् ।

तर, प्याकेजिङमा अनावश्यक रुपमा प्लास्टिकको प्रयोग रोक्ने, पुनः प्रयोग बढाउने र वातावरणमैत्री विकल्प अपनाउने हो भने सन् २०४० सम्ममा विश्वव्यापी प्लास्टिक प्रदूषण ८० प्रतिशतले घटाउन सकिने राष्ट्रसंघको अनुमान छ । हाल विश्वका १ सय २७ मुलुकले प्लास्टिकको प्रयोगमा आंशिक तथा पूर्ण रुपमा रोक लगाएका छन् ।

प्लास्टिकको झोला नष्ट हुन १ सयदेखि ५ सय वर्षसम्म लाग्छ । यसले पर्यावरणीय चक्रमा जलवायु परिवर्तन सहन गर्ने क्षमता घटाइ मानवीय स्वास्थ्य, खाद्यान्न उत्पादन क्षमता र प्राकृतिक प्रणालीमै असर पार्छ ।

यस्तै, अनुसन्धानकर्ताहरुले हालै अस्ट्रेलिया, अमेरिका, बेलायत र युरोपका ३८ वटा तालमा गरेको अनुसन्धानले सबै ठाउँमा प्लास्टिक र माइक्रोप्लास्टिक फेला परेको थियो । प्लास्टिक वातावरणमा प्रवेश गरेपछि तिनीहरु स-साना टुक्रामा परिणत भइ माइक्रोप्लास्टिक बन्न पुग्छन् । आकारमा ५ मिलिमिटरभन्दा साना आकारलाई माइक्रोप्लास्टिक भनिन्छ । 


Image

अमृत दाहाल

दाहाल कान्तिपुर टेलिभिजनको डेस्कमा कार्यरत छन् ।