महोत्तरीमा जनप्रतिनिधिहरूबाटै मठमन्दिरको जग्गा अतिक्रमण

श्रावण १३, २०८० |विकास ठाकुर
महोत्तरीमा जनप्रतिनिधिहरूबाटै मठमन्दिरको जग्गा अतिक्रमण

महोत्तरी । गुठी लगायत सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि हो । तर, निर्वाचनका बेला अतिक्रमित सरकारी जग्गा मुक्त गराउने घोषणा गरेका महोत्तरीका जनप्रतिनिधिहरू नै धार्मिक आस्थाका मठमन्दिरको जग्गा अतिक्रमणमा तल्लीन देखिएका छन् । 

मटिहानी मठका मान महन्त जगन्नाथ दाश किर्ते मुद्दामा जेल परेको र लामो समयदेखि रिक्त स्थानमा गुठी संस्थानले नयाँ मान महन्त नियुक्त नहुँदा थप बेथिति बढेको छ ।

रामानन्दीय वैष्णव सम्प्रदायको सबभन्दा जेठो मान महन्थ बस्ने धार्मिक संस्था महोत्तरीको मटिहानीमा अवस्थित यो लक्ष्मीनारायण मठ हो । केही वर्षअघि जग्गा अतिक्रमण गरी खेल मैदान बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको दुई वर्ष नबित्दै मटिहानी नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि मठको जग्गा अतिक्रमण गरी कम्प्लेक्स  निर्माण थालेको छ ।

लक्ष्मी नारायण मठकै अगाडि रहेको ऐतिहासिक झुला घरको छेउमा बिना इजाजत दुर्गा मन्दिर पनि बनाइएको छ । जसले सदियौँदेखि चलिआएको राम सीता झुला महोत्सवको आकर्षण ओझेलमा परेको छ । मटिहानी नगरपालिका मात्र होइन महोत्तरी गाउँपालिकाले पनि रानी रतवारामा सोही मठको जग्गा अतिक्रमण गरी गाउँपालिकाले कोल्ड स्टोर र सडक बनाइरहेको छ ।

गुठी अधीनस्थ मठमन्दिरको जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा गुठीसँग सहमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, जनप्रतिनीधिहरू नै कानुन विपरीतको कामलाई बढवा दिएपछि महोत्तरीकै एकडारा गाउँपालिकाले पनि एकडारा गाउँमा गुठीको जग्गामा धर्मशाला तथा शौचालय निर्माण थालेको छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका जग्गामा जनप्रतिनिधिकै मनमौजी बढेपछि गुठी संस्थानले पत्राचार गरे पनि स्थानीय प्रशासन मौन छ ।

मटिहानी मठसँग संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न जिल्लामा एक हजार ३ सय बिघा जग्गा रहेको थियो । जसमध्ये ७ सय बिघा रैताने नम्बरीमा परिणत भएको छ भने बाँकी ६ सय बिघा मध्ये अधिकांश अतिक्रमणमा परेका छन् ।

सम्बन्धित समाचार...

सम्पदा क्षेत्रकोजमिन अतिक्रमणमा तीनै तहका सरकारको मिलेमतो


Image

विकास ठाकुर

ठाकुर कान्तिपुर टीभीका महोत्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement