काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा शंकाको घेरामा रहेका व्यक्तिहरुको फोन ट्यापिङ गरेर अनुसन्धान अघि बढाएको छ ।
विभागले तस्करीका मुख्य अभियुक्तसम्म पुग्न दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा फोन ट्यापिङ थालेको जनाएको हो । यो प्रकरणको अनुसन्धान अघि बढाउन ५ जनालाई अनुसन्धान अधिकृतको जिम्मेवारी तोकिएको छ । यस्तै, पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमा उनीहरुको कल डिटेलसमेत मगाइएको छ भने अभियुक्तका बैंक खाताको समेत अनुसन्धान सुरु गरिएको विभागको भनाइ छ ।
पक्राउ परेका अभियुक्तले नाम लिएका व्यक्ति देशबाहिर जान नदिन प्रहरीसाग समन्वय गर्ने काम भइरहेका पनि विभागस्रोतले जनाएको छ । पक्राउ परेकाहरुले दिएको बयानकै आधारमा विभागले बुधबार र बिहीबार काठमाडौंका विभिन्न स्थानमा छापा मारेर सुन गाल्ने तथा जोख्ने मेसिनसमेत बरामद गरेको थियो । तिनलाई आज सार्वजनिक गरिएको छ ।
काठमाडौंको सोह्रखुट्टेबाट बरामद गरिएका ६६ कार्टुन ब्रेक सुबाट झण्डै २ सय ५० किलो सुन निकालिएको हुन सक्ने विभागको अनुमान छ । ६६ कार्टुनका ६ सय ६० बक्सभित्र १३ सय २० पिस ब्रेक सु रहेका छन् । जसमध्ये एक बक्सबाट ३ सय ८० ग्राम राखिएको हुन सक्ने अधिकारीहरुको भनाइ छ ।
एक क्विन्टल सुन बरामद प्रकरणमा विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी, चिनियाँ र भारतीय गरी २ विदेशी, भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालकसहित १७ जनालाई पक्राउ परिसकेका छन् । विभागले यो प्रकरणमा विवादास्पद पृष्ठभूमिका व्यापारी राकेशकुमार अडु-कियाको घरमा समेत छापा मारेको थियो । त्यसक्रममा कोही कागजात र ल्यापटपसमेत नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।