काठमाडौं । मानव तस्करको प्रलोभनमा युरोप, अमेरिका जाने सपनामा तेस्रो देश पुगेर अलपत्र परेकाहरूको समयमा उद्धार हुन सकेको छैन । त्यसैमा दक्षिण पूर्वी एसियाका देशहरुमा नेपाली किशोर किशोरी थप जोखिममा परेको तथ्य बाहिर आएको छ । विषेशगरी चिनियाँ र नेपालीको संगठित समूहले साइबर क्षेत्रको रोजगारका लागि थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायतका देशमा लगेर बन्धक बनाउने गरेको खुलेको हो । परराष्ट्र मन्त्रालयले समेत रोजगारीको प्रलोभनमा परेर आवश्यक जानकारी विनै त्यस्ता देशमा नजान सचेत गराएको छ ।
अनलाइन जुवा खेलाउन तथा साइबर ठगीमा प्रयोग गर्न नेपालीलाई झुक्याएर विदेश लैजाने क्रम अहिले बढेको छ । यहिकारण परराष्ट्र मन्त्रालयले दक्षिण-पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायतका देशमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सचेत गराउँदै सोमबार यात्रासम्बन्धी सूचना अर्थात् ट्राभल एडभाइजरी जारी गर्यो । मन्त्रालयले मानव तस्करको गिरोहले नेपालीलाई ती देशमा लगेर बन्धक बनाएको यात्रामा सचेत गराएको हो । परराष्ट्र मन्त्रालयले दुई वर्षअघि पनि यस्तो ट्राभल एड्भाइजरी जारी गरेको थियो । तर ती देशमा पुग्ने र अलपत्र पर्ने क्रम रोकिएको छैन ।
विषेशगरी प्रविधि क्षेत्रमा रोजगार दिने भन्दै प्रलोभनमा पारेर ती देशमा पुर्याइएका नेपालीलाई साइबर अपराधमा प्रयोग गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानले देखाइसकेको छ । म्यानमारको कायिन प्रान्तको म्यावडी लगिएका पाँच नेपालीको यसै साता उद्धार गरिएको छ । तर ती देशमा प्रविधि जानेका किशोर किशोरीलाई प्रलोभन देखाएर लैजाने र तेस्रो देशका नागरिकलाई धम्क्याउन, अनलाइन जुवा खेलाउन तथा साइबर ठगी गर्न प्रयोग गरिँदै आएको छ । अहिले पनि ती देशबाट १९ जना नेपालीले उद्धारका लागि आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मानव तस्करले लगेका नेपालीलाई म्यानमारको विद्रोही समूहले कब्जामा लिएको क्षेत्रमा राख्ने गरिएको छ । त्यस्ता ठाउँमा म्यानमारका सुरक्षाकर्मी समेत जान नसक्ने भएपछि कूटनीतिक पहलबाट पनि उद्धार गर्न कठिन छ ।
त्यसो त नेपाल प्रहरीको मानववेचविखन अनुसन्धान ब्यूरोको अनुसन्धानले पनि दक्षिणपूर्वी एसियाका देशहरुमा नेपाली लैजान चिनियाँ र नेपालीको गिरोहनै सक्रिय रहेको देखाएको छ । पाँच वर्षमा म्यानमार पठाउने ९, कम्बोडिया पठाउने ४ र लाओस पठाउनेविरुद्ध ३ वटा मुद्दा दायर भएका छन् । जसमा २५ नेपाली र ३ चिनियाँ पक्राउ परेका छन् । यो गिरोहका मुख्य योजनाकार चिनियाँ नै हुन् । पक्राउ परेका ३ चिनियाँ पुर्पक्षका लागि थुनामा छन् । म्यानमार, लाओस र कम्बोडियाबाट ब्यूरोको सूचनाका आधारमा २४ जनाको उद्धार भएको छ । तर अहिले पनि ती देशमा कति नेपाली छन् एकिन छैन । उद्धार भएर आएकाहरुले १ हजारभन्दा बढी नेपाली चिनियाँ समूहको नियन्त्रणमा रहेको आशंका गरेका छन् । म्यानमार, लाओस, कम्बोडियामा नेपालीलाई भ्रमण भिसामा लैजाने गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याउने र कतिपयलाई भारतको बाटोबाट थाइल्याण्ड हुँदै ती देश पुर्याउने गरिएको छ ।
मानव तस्करले भ्रमण भिसामा लैजान नेपालको अध्यागमनका कर्मचारीलाई नै प्रभावमा पार्ने गरेको तथ्य अनुसन्धानबाटै खुलेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले एक वर्ष अघि कारवाही पनि चलाएको थियो । तर त्यसमा गृह मन्त्रालयले साथ दिएको थिएन । अहिले पनि अध्यागमनमा मानव वेचविखन अनुसन्धान ब्यूरोको टोली राख्न गृहले नै असहयोग गर्दै आएको छ । एकातिर अध्यागमनको सुरक्षा व्यवस्था सुधार गर्न गृहले साथ नदिने र अर्कोतिर तेस्रो देश पुगेका नेपाली जोखिममा रहेको सूचना परराष्ट्र मन्त्रालयले निकाल्नुले मानव तस्करी नियन्त्रणमा सरकारी संयन्त्रबीच नै दोहोरोपन देखिएको छ ।