पोखरा । गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले अदालतले लिएको बयान सकिएको हो । हिजो देखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु भएको छ ।
लिलाको बयान सुरु मात्रै भएको र बुधबार क्रिसमसको सार्वजनिक बिदा परेकाले बिहीबार अदालत खुलेपछि लिलाको बयान निरन्तर हुने र त्यसपछि अन्यको बयान हुने सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर रकम अपचलनको अभियोग पछाईंलाई लागेको छ । मंगलबार जिल्ला अदालतमा छवि र पछाईंसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र नेचर हब्सका सञ्चालक रामबहादुर खनाललाई अदालत पुर्याइएको थियो ।
सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङलाई भने बिरामी भएकाले अदालत नलगिएको प्रहरीले जानकारी दियो । सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।