वीरगन्ज । वीरगन्ज महानगरपालिकाअन्तर्गत घण्टाघरछेवैमा बीपी उद्यान निर्माणको चर्चा सुरु भएको २० वर्षभन्दा बढी भयो । तर अझै उद्यान बन्न सकेको छैन । पटक-पटक शिलान्यास भएर पनि काम अघि नबढ्नुको पछाडि उद्यानको नाममाथिको राजनीति मुख्य कारण हो । यसले नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्तिलाई प्रस्ट्याएको छ ।
वीरगन्जको घण्टाघरको मुख्य सडकको १० बिघामा एक अर्ब रुपैयाँको लगानीमा पार्क, पोखरी, मन्दिरलगायत संरचना निर्माण गर्ने योजना छ । पछिल्लो २० वर्षमा संघ र प्रदेशमा मात्र होइन स्थानीय तहमा पनि नेपाली कांग्रेस पटक-पटक नेतृत्वमा पुग्यो । तर बीपी उद्यानको काम अघि बढाउन सकेन ।
‘०४८ सालदेखि नै बीपी उद्यान बनाउने भन्ने निर्णय भएर आएको छ । अब त्यही ठाउँमा निहुँ खोजेर यहाँ बीपी उद्यान बन्नु हुँदैन, अर्को पार्क बन्नुपर्छ भन्नु दुर्भाग्य हो,’ नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले भने ।
संघीय सरकारले दुई वर्षअघि बीपी उद्यानको काम अघि बढाउन करिब एक अर्ब बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चार करोडको लागतमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले पर्खाल र फुटपाथमा पेभर्स, इन्टर लकिङ गर्ने र ढलानबाहेकको काम गरेको छैन ।
‘पहिलो ठेक्कामा बाउन्ड्री वालको र फ्लोर ढलानको काम भएको छ । दोस्रो चरणमा फुटपाथमा इन्टर ब्लकिङको काम भएको छ,’ सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जका इन्जिनियर राजन जैसवालले भने ।
उद्यान बनाउने सर्तमा तत्कालीन नेपाल यातायात संस्थानसँग २०६० सालमा तत्कालीन वीरगन्ज नगरपालिकाले १० करोड रुपैयाँमा घण्टाघरसँगैको १० बिघा जग्गा खरिद गरेको थियो । ०६० कात्तिक २७ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले उक्त जग्गा बेचबिखन, हक हस्तान्तरण गर्न नपाउने र बीपी उद्यानबाहेक अन्य कुनै पनि प्रायोजनमा प्रयोग गर्न नपाइने निर्णय गरेको छ ।
वीरगन्जका नगर प्रमुख दिवंगत माधवलाल श्रेष्ठको पालामा जग्गा खरिद गर्ने निर्णय भएको थियो । त्यसका लागि उनको कार्यकालमा पाँच करोड र विमल श्रीवास्तव नगर प्रमुख हुँदा ५ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । पछि दिवंगत गोपाल गिरी नगर प्रमुख हुँदा लालपुर्जा प्राप्त गरेको थियो । २०६० सालमै तत्कालीन नगर प्रमुख गिरीले उक्त जग्गामा बीपी उद्यानको बोर्ड लगाएका थिए । तर काम भने अघि बढ्न सकेको थिएन ।
‘राजनीतिक जोरजुलुमले गर्दा दिमागमा के पारिदिएको छ भन्दा बीपी उद्यान भयो भने एकथरी समुदायको मात्रै हुने भयो । मधेश सहिद पार्क हुने भयो भने एकथरीको मात्र हुने भयो भन्ने छ । यो कुरालाई अब कसरी तोड्ने ?’ ज्येष्ठ नागरिक संघका केन्द्रीय सदस्य जगदीश शर्माले भने, ‘यसका लागि सर्वदलीय बैठक बसेर टुंग्याउनुपर्ने हो ।’
२०७५ माघ १६ गते तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बीपी उद्यानको अगाडि खाली भागमा सहिद पार्क शिलान्यास गर्नुका साथै पार्क निर्माणको काम सम्पन्न भइसकेको छ । त्यसका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
त्यसो त यसअघि ०६० कात्तिक २७ गते तत्कालीन श्रम तथा यातायातमन्त्री प्रकाशचन्द्र लोहनीले पनि सोही स्थानमा बीपी उद्यानको शिलान्यास गरेका थिए ।