सडक सम्पर्क टुटेपछि ताप्लेजुङमा ग्यास तथा खाद्यान्न अभाव, बन्द हुन थाले होटेल

असार १६, २०८० |आनन्द गौतम
सडक सम्पर्क टुटेपछि ताप्लेजुङमा ग्यास तथा खाद्यान्न अभाव, बन्द हुन थाले होटेल

ताप्लेजुङ । पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध हुँदा ताप्लेजुङको दैनिक जनजीवनका साथै होटेल व्यवसाय समस्यामा परेको छ ।

खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सदरमुकाम फुङलिङका होटेलहरु बन्द हुन थालेका छन् । सदरमुकामस्थित होटेल सेन्ट्रलले आफ्ना सबै सेवा बन्द गरेको छ । खाजा, खाना र लजसमेत भएको होटेलले दुई दिनयता परिकार बनाउन बन्द गरेको हो । दैनिक आउने ग्राहकलाई ग्यास नआएसम्मका लागि ‘सरी’ भनेर फर्काउन थालेको छ । पुरानो बैंक लाइनमा रहेको यो होटेलमा दैनिक सयौंको संख्यामा ग्राहक आउने गरेका थिए । वीरेन्द्र चोकमै रहेको ताप्लेजुङ किचन पनि बन्द गर्नु पर्ने अवस्थामा पुगेको सञ्चालक बताउँछन् ।

होटेल व्यवसायी संघका अध्यक्ष दिनेश खवासका अनुसार सेण्ट्रल जस्तै सदरमुकामका धेरैजसो होटेलले सेवा बन्द गर्न थालेका छन् । ‘मलाई आज बिहान चार/पाँच जनाले ग्यासको व्यवस्था मिलाइदिन भन्नुभयो,’ खवासले भने, ‘अब चाहिँ हरेक पसलमा ग्यास सकिएकोले कुनै उपाय देखिएन ।’ पहिला दाउराको प्रयोग गर्ने सदरमुकामका होटेलहरुले झण्डै एक दशकयता ग्यासको प्रयोग गर्दै आएका छन्।

पाँथरको हेवा खोलाको पुल बाढीले बगाएपछि ताप्लेजुङमा समस्या उत्पन्न भएको हो । यही असार ३ गतेको बाढीले मेची राजमार्गअन्तर्गतको मोटरेबल पुल बगाएको थियो । उक्त पुल बगाएपछि वैकल्पिक व्यवस्था हुन नसक्दा ताप्लेजुङमा इन्धनका साथै खाद्य संकट देखा पर्न थालेको हो ।

ह्युमपाइप लगाएर एक दिन डाइभर्सनमार्फत केही घण्टा यातायात खुले पनि नियमित नभएका कारण सामान आयात निर्यात हुन सकेको छैन । जिल्लामा ग्यास, डिजेललगायतका वस्तुको अभाव हुन थालेको छ । जिल्लामा विकास निर्माण कार्य सकेर असार २४ गतेसम्ममा भुक्तानी लिनुपर्ने भएपनि डिजेल नभएकाले कतिपय निर्माणका काम प्रभावित भएका छन् ।

आशिका आयल सप्लायर्सका सञ्चालक तारा बरालले एक दिन सडक खुलेको समयमा दुई वटा ट्यांकरमार्फत १२ हजार लिटर तेल भित्र्याए पनि पर्याप्त नभएको बताउँछन् । ‘डिजेल र पेट्रोल मिलाएर ल्यायौं,’ उनले भने, ‘पेट्रोल चाहिँ अब असार भरीलाई पुग्छ, डिजेलको माग धेरै छ ।’ अझै तीन ट्यांकर ल्याउन सकेमात्रै असार मसान्तसम्मको माग धान्न सक्ने उनले जनाए ।

उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापाले जिल्लामा सिलिण्डर ग्यास, तेल, चिनीलगायतका वस्तुको अभाव भइसकेको जनाए ।

मन्त्री भेट्न बाटोमा...

उपभोग्य वस्तुको अभाव भएपछि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा र उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापाको टोली मन्त्री भेट्न बाटो कुरेर बसेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पाँचथरको च्याङ्थापु जाने भएपछि मेची राजमार्गको गणेश चोक पुगेर जिल्लाको समस्या दर्शाउने भएका हुन् ।

यसअघि, ह्युम पाइप राखेर यातायात सञ्चालनको माग गर्दै उद्योग वाणिज्य संघको टोली पाँचथरको हेवा खोला क्षेत्रमा पुगेर फर्किएको थियो । खोलो बढेका कारण ह्युम पाइप राखेर नियमित सञ्चालन हुन नसकेपछि पुल निर्माणलाई गति दिन आग्रह गरिएको हो । सडक डिभिजन कार्यालय इलामले सात दिनमा सक्छौँ भनेको तर सात दिनमा बेलिब्रिज जोड्ने कामसमेत सुरुवात नै नभएकाले दबाब सिर्जना गर्नु परेको वाणिज्य संघ अध्यक्ष थापाको भनाइ छ ।

मन्त्री ज्वालाले बाढीपहिरो गएको क्षेत्रका सडक एक सातामा खुलाउने प्रतिबद्धता गरेका थिए । उनले भनेको आधा महिनासम्म पनि प्रगति नदेखिएपछि स्थानीय आक्रोशित बनेका छन् । ताप्लेजुङबाट मेची राजमार्ग र तमोर करिडोरबाट यातायात सञ्चालन हुँदै आएको थियो । हेवा खोलाले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने र तमोर करिडोरको पुलसमेत बगाएको छ । करिडोरको सडक तत्काल नखुल्ने भएकाले मेची राजमार्गमार्फत यातायात सञ्चालनका लागि सरोकारवालाहरुले जोड दिएका छन् ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।