पशुपतिको जलहरी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसदहरुको माग

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिको जलहरी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले पशुपतिको जलहरी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सत्तारुढ माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसदमा जानकारी दिनुपर्ने माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उजुरी परेको २ वर्षपछि र महालेखाले नै प्रष्ट पारेको विषयमा ढिलो छानबिन गरिएकोमा प्रश्न गर्दै यसका लागि संसदीय समिति बनाउनुपर्ने माग गरे ।

यस्तै हालैको बाढी पहिरो र चट्याङ लगायतका मनसुनजन्य क्षतिमा सरकार गम्भीर नभएको आरोप पनि सांसदहरुले लगाएका छन् । बाढि पहिरोबाट जनधनको क्षति भएको तर सरकारले तत्काल उद्दार, राहत तथा पुनर्स्थापनाको व्यवस्था नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

पछिल्लो समय सडक दुर्घटना र मानवीय क्षति बढेको भन्दै सांसदहरुले नियमनमा कडाइ गर्न सुझाव दिएका छन् ।

अहिले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नभएको बताए । उनले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स‌ंघीय निजामति विधेयक संसदको यसै अधिवेशनमा पेश गरिने बताए । उनले सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको पनि जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपतिको जलहरीका विषयमा अख्तियारले छानबिन गरिरहेको बताए । उनले विमानस्थल थप्नेभन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी तथा श्रम मन्त्रालयअन्तर्गत उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.