हरिकृष्ण कार्की बने ३० औं प्रधानन्यायाधीश !

असार १, २०८० |कान्तिपुर टीभी संवाददाता
हरिकृष्ण कार्की बने ३० औं प्रधानन्यायाधीश !

काठमाडौं । नेपालका ३० औं प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कायममुकामय प्रधानन्यायाधीश भएर काम गरेका ९ महिनापछि आजदेखि न्यायपालिकाको नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् । लामो रस्साकस्सी र राजनीतिक खिचातानीकाबीच साउन २० गतेसम्मका लागि प्रधानन्यायाधीश बनेका कार्की को हुन् त ?

२०१५ साल साउन २० गते ओखलढुंगामा जन्मिएका कार्की २०४० सालमा कानुनमा स्नातक गरेपछि अधिवक्ताका रुपमा व्यवसाय सुरु गरे । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको कानुनी सल्लाहकारको जिम्मेवारीसमेत निर्वाह गर्दै आएका कार्की २०७० सालमा वरिष्ठ अधिवक्ता भए । उनी २०६९ माघदेखि ३ वर्ष नेपाल बार एसोसिएसनको निर्वाचित अध्यक्ष बने । बारको अध्यक्षको कार्यकाल पूरा नगर्दै केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोज २८ गते महान्यायाधिवक्तामा नियुक्ति भए । करिब ५ महिना महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका उनलाई संवैधानिक परिषद्ले २०७२ फागुन १८ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्‍यो । लगत्तै उनले महान्यायाधिवक्ताको जिम्मेवारी छाडेका थिए ।

कार्की २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भए । आगामी साउन २० गते ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाउने प्रधानन्यायाशीश कार्कीले ५१ दिन न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

यो छोटो अवधिमा उनलाई आफैँले तयार गरेको न्यायपालिका सुधार प्रतिवेदन कार्यान्वयन गर्न र न्यायपालिकामाथीको विश्वास बढाउन सहज भने छैन । त्यसैले कार्कीले पनि न्यायालयमाथि विश्वासको वातावरण बनाउँदै ठोस एवम् नतिजामूलक कार्यसम्पादनको वातावरण बनाउन कत्तिको सक्लान् त ?

सम्बन्धित समाचार...

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको सपथ, आजै गरे पदभार ग्रहण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.