‘आमा नेपाली, बुबा नेपाली हामीलाई कुन देशको नागरिकता दिने ?’ (फोटो फिचर)

जेष्ठ ३०, २०८० |पशुपति बुढाथोकी
‘आमा नेपाली, बुबा नेपाली हामीलाई कुन देशको नागरिकता दिने ?’ (फोटो फिचर)

काठमाडौं । नागरिकताविहीनहरुले काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । जन्मका आधारमा नागरिकता पाएका सन्तान र आमाका नामबाट नागरिकता बनाउनुपर्नेहरुले काठमाडौं आएर प्रदर्शन सुरु गरेका छन् । सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि नागरिकतासम्बन्धी स‌ंशोधित कानुन कार्यान्वयन हुन सकेको छैन ।

विभिन्न जिल्लाबाट आएका नागरिकताविहीनहरुले माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशको विरोध गरेका छन् । नागरिकताविहीनहरुले संसदको दुवै सदनबाट दुईपटक पास भई प्रमाणीकरणका लागि पुगेको विधेयकलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकामा पनि आक्रोश व्यक्त गरेका छन् । नागरिकता नहुँदा आफूहरुको पढाइ अवरुद्ध हुनुका साथै रोजगारी पाउनसमेत समस्या भएको रुपन्देहीकी प्रतीक्षा शर्मा र सुनसरीकी राधा पण्डितको गुनासो छ ।

उनीहरुले आमा नेपाली, बुबा नेपाली हामीलाई कुन देशको नागरिकता दिने ?, अनागरिक बनाउन पाइँदैन, नागरिकता विधेयक कार्यान्वयन गर, एकल आमाको सन्तानलाई नागरिकता देऊ, जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दे, लगायत नारा अंकित प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरेका छन् ।

नागरिकताविहीन संघर्ष समितिका नामबाट संगठित भएका नागरिकताविहीनहरुले राजधानी केन्द्रित धर्ना र प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् । जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तान र बुबाको पत्ता नलागेका व्यक्ति कानुन अभावका कारण नागरिकताबाट वञ्चित छन् ।


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement