काठमाडौं । सन् २०१६ मै पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो । तर हरित ग्यास उत्सर्जन लगायतका मानवीय गतिविधिका कारण विश्व तापमानले सीमा पार गर्ने अवस्था आएको छ ।
तापक्रम वृद्धिका कारण अन्टार्टिकासहित विश्वभरका हिमाली क्षेत्रबाट हिउँ पग्लने क्रममा तीव्रता आएको छ भने समुद्रको स्तर बढ्ने प्रक्षेपण वातावरण विज्ञले गरेका छन् । नेपालमा पनि तापक्रम वृद्धि उच्च हुँदा यसले पार्ने प्रभावका कारण प्राकृतिक विपत्तिको जोखिम बढेको छ।
समुद्रको मौसमी प्रणालीका मुख्य दुई कारण छन् एउटा– एल निनो, अर्को– ला निना । प्रशान्त महासागरको पश्चिम भागमा समुद्री सतहको पानी तातेर हावाको न्यून चापीय क्षेत्र तयार हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ । त्यस विपरीत पूर्वी प्रशान्त क्षेत्रमा पानीको तापक्रम औसतभन्दा बढी र पश्चिमी प्रशान्तमा कम हुने अवस्थालाई ‘ला निना’ भनिन्छ ।
प्रशान्त महासागरका यी प्रणालीले पूरै विश्वको तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्छन् । यस्तो सामुद्रिक प्रणाली हरेक दुईदेखि ७ वर्षको बीचमा दोहोरिने गरेको छ, तर कुनै नियमितता हुँदैन । यही कारण कुनै वर्ष अधिक वर्षा हुने गरेको छ भने कहिले खडेरी र सुख्खा ।
विश्व मौसम संगठनका अनुसार अल निनोको शक्तिशाली प्रभाव सन् २०१४/२०१५ मा देखिएको थियो, जसको परिणामस्वरूप सन् २०१६ सर्वाधिक गर्मी वर्ष साबित भयो । अब यसको प्रभाव २०२४ मा पनि देखिने सम्भावना छ । यही कारण संगठनका महासचिव प्राध्यापक पेटेरी तालसले भीषण वर्षा वा खडेरी जस्ता मौसमी घटनाका लागि तयार रहन आग्रह गरेका छन् ।
सन् २०१६ मा विश्व तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो । तर, हालै गरिएको एक अध्ययनले तापक्रम वृद्धिले उक्त सीमा पार गर्ने आकलन गरिएको छ, जसबाट विकासशील मुलुकहरू बढी प्रभावित हुने छन् ।
७० वटा संस्थाहरूको सहयोगमा गरिएको अनुसन्धानमा विश्वका विपन्न समुदायका करिब २० करोड मानिसले असहनीय गर्मी झेल्नुपर्ने र समुद्रको स्तर बढ्दा ५० करोड मानिसले विपत् भोग्नुपर्ने उल्लेख गरिएको छ ।
विश्व मौसम संगठनका अनुसार पृथ्वीको तापमान १ सय ५० वर्षअघिको तुलनामा १ दशमलव २ डिग्री सेल्सियस बढेको छ भने शताब्दिको अन्त्य अर्थात् सन् २१ सयसम्म तापमान २ दशमलव ७ डिग्री सेल्सियससम्म बढ्नेछ । तापक्रम वृद्धिकै कारण सन् १९९० को दशकको मध्यदेखि २८ खर्ब टन हिउँ पग्लिसकेको छ, जहाँ हरेक वर्ष १ दशमलव २ खर्ब टन हिउँ पग्लने गर्छ ।
अन्टार्टिकामा बर्सेनि १५० अर्ब टन हिउँ पग्लने गरेको छ भने ग्रीनल्याण्डमा बर्सेनि २ सय ७० अर्ब टन हिउँ पग्लने गरेको छ, जसबाट समुद्रको तह बढ्दा तटीय क्षेत्रका बस्ती पनि जोखिममा परेका छन् । मौसम विज्ञान विभागले सन् २०१७ मा निकालेको निष्कर्षले नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा शून्य दशमलव शून्य पाँच ६ डिग्री रहेको देखाएको थियो ।
नेपालमा तापक्रम वृद्धि तराईमा भन्दा हिमाली क्षेत्रमा बढी देखिएको छ। त्यसअघि सन् २०१२ मा भने नेपालमा वार्षिक शून्य दशमलव शून्य ६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको पाइएको थियो । विगत ५० वर्षमा २ दशमलव चार ६ डिग्री सेल्सियस तापक्रम बढेको विभागको भनाइ छ ।
तापक्रम वृद्धिको प्रमुख कारण हरित ग्यास उत्सर्जन हो भने यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको छ। हिउँ पग्लने क्रम बढेको छ भने हिमतालहरू पनि बढेका छन् ।