सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

जेष्ठ २४, २०८० |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ। त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश सभा बैठकमा छलफल भइरहेको छ। असार १ गते ल्याइने बजेटका लागि प्रदेश सरकारले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

बजेट आउने मिति नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आफ्ना योजना पार्नका लागि दलका नेता कार्यकर्ता धनगढी ओइरिएका छन्। आर्थिक मामिला मन्त्रालयमा गत वर्षजस्तै पुल पुलेसा, तटबन्ध, बाटो निर्माण र सिँचाइका लागि बजेट माग्न आउनेको लर्को लागेको छ।

बैतडीबाट आएका लालसिंह कार्की आफ्नो ठाउँमा खानेपानीको समस्या रहेको बताउँछन् । उनले भने, हाम्रो समस्या केही न केही समाधान गर्दिन्छन् कि भन्ने आशा छ ।

प्रदेश सभा सदस्यहरुले सुदूरपश्चिमको सबैभन्दा ठूलो समस्या गरिबी र बेरोजगारी अन्त्य गर्ने योजना बजेटमा समेटिनु पर्ने धारणा राखेका छन्। विगतमा जस्तो वितरण मुखी नभई प्रभावकारी र परिणममुखी योजना ल्याइनुपर्ने उनीहरूको माग छ ।

योजनालाई अलपत्र पार्ने प्रयासलाई निरुत्साहित गर्ने र वितरणमुखी नभइ प्रभावकारी तथा परिणाममुखी कार्ययोजनालाई जोड दिने यसपालिको बजेट आउँछ, आउनुपर्छ भन्ने विश्वास लिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जनाए ।

सडक र विद्युतलाई पूर्णता दिन सकेको खण्डमा विकासको पहिलो प्राथमिकता पूरा हुने कांग्रेस प्रदेशसभा सदस्य प्रकाश बमको भनाइ छ ।

प्रदेश सरकारले पनि प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिकै सुझावको आधारमा बजेट निर्माणको तयारी भइरहेको जनाएको छ । कृषिमा उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन, केही खानी उद्योग र निर्माणाधीन योजना पूरा गर्ने गरी बजेट निर्माणको तयारी भइरहेको सरकारी दाबी छ ।

विगतमा सरकारले दीर्घकालीन प्रभावलाई मध्यनजर नराखी हल्का रुपमा कार्यक्रम ल्याएकाले त्यसको फितलो कार्यान्वयन भएको स्थानीयको ठहर छ । 


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।