नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस

जेष्ठ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज (सोमबार) पनि थुनछेक बहस हुनेछ । काठमाडौं जिल्ला अदालतमा हिजो (आइतबार) बाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई वकिलले मात्रै बहस गरेका थिए । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो । थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने/नपठाउने टुंगो लाग्नेछ । अहिले जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट अभियोजनका पक्षमा बहस भइरहेको छ । आइतबार सुरु भएको थुनछेक बहसको प्रारम्भमै दुई सहन्यायाधिवक्ताले आरोपीविरुद्ध प्राप्त प्रमाण पेस गरेका हुन् । पक्राउ परेका १८ जनालाई नै आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर बहस सुरु गरिएको थियो ।

बहसका क्रममा आइतबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजीत राई एउटै लहरमा बसेका थिए । सरकारी वकिलले तथ्यहरु प्रस्तुत गर्दा आरोपीबीच एक आपसमा कुरा चलिरहन्थ्यो । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने निकै अस्थिर देखिन्थे ।

३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका आरोपीलाई अदालतले थुनामा पठाउँछ वा पठाउँदैन भन्ने सर्वत्र चासो छ ।

पक्राउ परेका अधिकांशले आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका छन् । तर पीडितको जाहेरी, गृह मन्त्रालयले शरणार्थी समस्या समाधानका लागि भन्दै बनाएको कार्यदलको प्रतिवेदन किर्ते भएको देखि विभिन्न तहमा बैंक खाता प्रयोग भएकाहरुसमेत पक्राउ परेकाले पर्याप्त प्रमाण रहेको प्रहरीको दाबी छ ।

दुवैतर्फका कानुन व्यवसायीहरुका तर्फबाट बहस हुने भएकाले आदेश आउन भने केही दिन लाग्ने बताइएको छ। न्यायाधीश न्यौपानेले बहसको समय व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

पक्राउ परेका आरोपीलाई अदालतले थुनामा पठाउँछ वा पठाउँदैन भन्ने सर्वत्र चासो छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत आरोपी अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । नेपालमा पहिलोपटक गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलेको हो । थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement