महाकालेश्वरको दर्शनपछि जाग्ला त दाहालमा अध्यात्म ?

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
महाकालेश्वरको दर्शनपछि जाग्ला त दाहालमा अध्यात्म ?

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वदृष्टिकोण फरक छ । मोदी हिन्दुधर्ममा आस्था राख्ने अध्यात्मवादी नेता हुन् भने दाहाल धर्मनिरपेक्ष एवं भौतिकवादी दृष्टिकोण बोकेका कम्युनिस्ट नेता हुन् ।

विहीबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्ने क्रममा मोदीले दाहालमा महाकालेश्वरको दर्शन गराएर अध्यात्मिक अनुभूति जगाउने घोषणा गर्न भ्याए ।

यस्तो लाग्थ्यो, मोदीको यो घोषणा भौतिकवादी दाहालको दृष्टिकोणमाथि हल्का व्यंग्य पनि हो ।

दाहाल र मोदीको उधारो आश्वासन : एकातिर कागज, अर्कातिर भाषण

‘प्रधानमन्त्री प्रचण्डजी, तपाई भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्नुहुनेछ । मलाई विश्वास छ कि तपाईको उज्जैन यात्रा ऊर्जामय हुनेछ’, मोदीले भने,‘र, पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यस यात्रामा तपाईलाई आध्यात्मिक अनुभूति पनि हुनेछ ।’

रोचक त के छ भने भौतिकवादी प्रधानमन्त्री दाहाललाई भारतीय जनतावादी पार्टीको सरकारले धार्मिक शहर घुमाउने योजना बनाउनु आफैंमा तालमेल नमिलेजस्तो देखिन्छ । धार्मिक शहर उज्जैनको भ्रमणमा त्यहाँ दाहाललाई महाकालेश्वर मन्दिरको दर्शनसमेत गराउने योजना मोदी सरकारको छ । यो मन्दिरको दर्शन पक्कै पनि दाहालको रोजाई नभएर बिजेपीका नेताहरुको योजना अन्तरगत भएको हो ।

अतिक्रमित नेपाली भूमीबारे १ शब्द पनि बोलेनन् प्रधानमन्त्री मोदीले

भोलि राति मध्यप्रदेशको इन्दौरस्थित मेरियट होटलमा बास बस्न लागेका दाहालले त्यहाँ रहँदा फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

त्यसो त भारतीय प्रधानमन्त्री मोदीले विहीबारको भेटमा दाहालसँग रामायण सर्किटको विकासका बारेमा समेत कुरा भएको जानकारी दिए ।

‘भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो छ र धेरै मजबुत छ’ मोदीले संयुक्त पत्रकार सम्मलेनमा भने,‘यो सुन्दर कडीलाई थप बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चय गरेका छौं कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा गति ल्याउनुपर्छ ।’ 

थप...

नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो, भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो
हैदरावाद हाउसको वार्ता : भारतले के लियो, नेपालले के पाएन ?
मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.