बागलुङमा दश दिनमा झन्डै ४ सय बंगुर मरे, २ करोडको क्षति

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
बागलुङमा दश दिनमा झन्डै ४ सय बंगुर मरे, २ करोडको क्षति

बागलुङ । बागलुङमा दश दिनमा झन्डै ४ सय बंगुर मरेका छन् ।

बागलुङ नगरपालिकाको १, २, ३ र ४ वडा क्षेत्रमा ५४ किसानले व्यावसायिक रुपमा पालेका ३९२ वटा बंगुर मरेका हुन् । दश दिनभित्रै अधिकांश ब‌ंगुर मरेपछि दुई करोडभन्दा बढीको क्षति पुगेको भन्दै कृषक चिन्तित बनेका छन् ।

धमाधम सुँगुर र बंगुर मर्न थालेपछि पशु सेवा विज्ञले परीक्षण थालेका छन् । भेटिरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाका अनुसार बंगुरमा अफ्रिकन स्वाइन फिभर नामक भाइरस हुन सक्ने आशंका छ ।

केही महिनाअघि बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक बंगुरको परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस देखापरेको थियो । मरेका पशुको मासु नखान पशु सेवा केन्द्रले आग्रह गरेको छ । बागलुङमा तीन सयभन्दा बढी किसानले १२ हजारको संख्यामा सुँगुर र बंगुर पाल्दै आएको तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.