नेपालले अन्तर्राष्ट्रियस्तरमा बढ्दै गरेका द्वन्द्व अन्त्यका लागि आग्रह गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ

नेपालको पहलपछि भारत-पाकिस्तान तनाव रोकिएको दाबी
वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालले अन्तर्राष्ट्रियस्तरमा बढ्दै गरेका द्वन्द्व अन्त्यका लागि आग्रह गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्व शिक्षालाई आत्मसात गरेर नेपालले अन्तर्राष्ट्रियस्तरमा बढ्दै गरेका द्वन्द्व अन्त्यका लागि आग्रह गरिरहेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको मूल समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत साता भारत-पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि नेपालले शान्ति कायम गर्न आग्रह गरेको बताउनुभयो । 

नेपालको आग्रहपछि दुई देशबीचको तनाव रोकिएको उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, “केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं । उहाँहरूसँग पनि कुरा गर्‍यौं । नभन्दै, उहाँले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात्, बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिको लागि छ, पारिवारिक शान्तिको लागि छ, सबै कुराको लागि शान्तिको महत्त्व छ ।”  

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययनका साथै चिन्तन-मननको केन्द्र बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि क्योको योकोसुका, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, चीनका राजदूत चेन सोङ र थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले पनि बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.