काठमाडौं । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस १५, १६ र १७ गते ‘बायो-रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । गत चैत २५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाह सुझावका आधारमा सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।
कोशी प्रदेशले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पुर्याउनका लागि ‘जैविक विविधता : रेड पान्डा र थार-संरक्षण संवर्द्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ विश्व सम्मेलन आयोजना गरिने उहाँले बताउनुभयो ।
यस्तै सगरमाथा संवादका लागि कोशी प्रदेशबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका छनोट भएको पनि सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले बताउनुभयो । “देशभरिबाट छनोट भएका ११ वटा स्थानीय तहभित्र हाम्रो नगरपालिका पर्न सफल भएको यही कार्यक्रममार्फत जानकारी गराउन चाहन्छौं”, उहाँले भन्नुभयो ।
नेपालमा पहिलो पटक ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’ र ‘रेड पान्डा तथा थार महोत्सव-२०८२’ सम्पन्न गरी वन, वातावरण र पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा नगरपालिकाले गरेको योगदानलाई आधार लिएर सगरमाथा संवादका लागि छनोट गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।