पशुपतिको जलहरीका विषयमा महालेखा र संस्कृति मन्त्रालयसँग संसदीय समितिले छलफल गर्ने

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिको जलहरीका विषयमा महालेखा र संस्कृति मन्त्रालयसँग संसदीय समितिले छलफल गर्ने

काठमाडौं । संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको तौलका विषयमा महालेखाका पदाधिकारी र संस्कृति मन्त्रालयसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको स्थलगत अनुगमन गर्दा प्राप्त जानकारी र महालेखाको ५९ औं प्रतिवेदनमा समेत जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग गरिएको भनिए पनि पुष्टि हुने विवरण पेस नभएकाले तथ्य पहिचानका लागि समितिले छलफल गरेर निस्कर्ष निकाल्ने जनाएको हो । 

समितिको आज बसेको बैठकले सबै तथ्य र प्रमाण संकलनपछि सरकारलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ ।

समितिले गरेको अनुगमन प्रतिवेदनमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुँदा मारवाडी सेवा समाजले सञ्चालन गरेको धर्मशाला व्यक्तिको स्वार्थपूर्तिमा उपयोग भएको उल्लेख छ । 

समितिले यसअघि पशुपति क्षेत्र विकास कोषको जग्गा एकिन गर्न निर्देशन दिए पनि १८ हजार ३ सय ४२ रोपनी जग्गामध्ये ६ हजार मात्रै एकिन गरिएको जनाएको छ ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषको प्रशासनिक तथा सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न कर्मचारीको पदपूर्ति नगरिएको, कोषको जग्गा भाडामा दिँदा मनपरी मापदण्ड अपनाइएको विषय पनि प्रतिवेदनमा उल्लेख छ ।

Enter Kantipur TV HD
Advertisement