शिविरका शरणार्थीलाई आफ्ना समस्या समाधानमा भारतीय सहयोगको अपेक्षा

जेष्ठ १७, २०८० |रमा दाहाल
शिविरका शरणार्थीलाई आफ्ना समस्या समाधानमा भारतीय सहयोगको अपेक्षा

झापा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या समाधानका लागि भारतलाई राजी गराउन झापाको शिविरमा रहेका भुटानी शरणार्थीले आग्रह गरेका छन् । तेस्रो देश स्थानान्तरणमा छुटेर शिविरभित्र कष्टपूर्ण जीवन बिताइरहेका उनीहरुमध्ये अधिकांश आफ्नै देश फर्कन चाहन्छन् ।

झापाको बेलडाँगी शिविरमै बसेर स्वदेश फिर्ती अभियान चलाइरहेका झापा र मोरङमा गरी तीन हजारभन्दा बढी भुटानी शरणार्थी छन् । आफूसँगै भुटानबाट लखेटिएर नेपाल आएका अधिकांशले तेस्रो देश पुनर्वास रोज्दा पनि उनीहरुले स्वदेश फिर्तीको अडान छोडेका छैनन् । उनीहरु अझै पनि नेपाल सरकारले पहल गरेर स्वदेश पठाइदेला भन्ने आशामा छन् । उनीहरुले विज्ञप्ति निकालेरै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारसमक्ष अनुरोध गरेका छन् । तर, भारतले नचाहेसम्म समस्या समाधान हुँदैन भन्ने उनीहरुलाई राम्रैसँग थाहा छ ।

त्यसो त भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै सन् १९९३ देखि २००४ सम्म नेपाल र भुटानबीच १५ पटक वार्ता भयो । तर, कुनै वार्ताबाट पनि भुटान फिर्तीको पहल पूरा गर्न सकेन । त्यसपछि अन्तर्राष्ट्रिय संस्था युएनएचसीआरको पहलमा तेस्रो देश पुनर्वास गरिएको हो । पुनर्वासमा छुटेका साढे ६ हजार शरणार्थीमध्ये अधिकांश भुटानै र्फकन चाहन्छन् । यसका लागि भारतले साथ दिएमात्र सम्भव हुने शरणार्थी अगुवाहरुको ठम्याइ छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।